काठमाडौँ, भदौ २९ । सूचना प्रविधिको विकासले मात्र मुलुकले समृद्धि हासिल गर्न सक्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।
कम्प्युटर एशोसिएशन नेपालद्वारा आयोजित ‘क्यान कमटेक–२०१७’ को बिहीबार उद्घाटन गर्दै उनले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले नयाँ योजना ल्याउने प्रतिवद्धता व्यक्त गरे । अबको एक महिनाभित्र सूचना प्रविधिको विकासका लागि नयाँ कार्ययोजना ल्याउने उनले बताए । अहिले आफु सूचना प्रविधिको विकासका लागि गहन अध्ययनमा रहेको बताए ।
प्रविधिको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यसका लागि योजना ल्याउन निजी क्षेत्रसँग आग्रह गरेका छन् । उनले नयाँ कानून बनाएर हुन्छ कि संशोधन गरेर हुन्छ नेपाललाई ‘डिजिटल’ युगमा लानुपर्ने पनि बताए । कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्मा र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सूचना प्रविधि क्षेत्रमा विकासलाई प्राथमिकता दिन आग्रह गरे ।
भृकुटीमण्डपमा शुरु भएको क्यान कमटेक आउँदो असोज १ गतेसम्म सञ्चालन हुनेछ । सूचना प्रविधि क्षेत्रमा आएका पछिल्ला विकासबारे जानकारी गराउन कमटेक आयोजना गरिएको क्यानका कार्यबाहक अध्यक्ष हेमन्त चौरसियाले जानकारी दिएका छन् । कमटेकमा सूचना प्रविधिसँग सम्बन्धित करिब ९० कक्षहरु रहेका छन् ।