प्रधानमन्त्रीले आजै विश्वासको मत लिने तयारी गर्दै

काठमाडौं । दोस्रोपटक पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको संसद् बैठकको पत्र पढेर सुनाउने कार्यतालिका छ । यसैगरी, मन्त्रिपरिषद्को गठन र मन्त्रीहरूको कार्यविभाजनबारे जानकारी गराइने भएको छ । त्यसैगरी केही सांसहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेका छन् ।

दोस्रोपटक पुनस्र्थापित संसद्को पहिलो बैठक भएकाले अन्य कार्यसूची खासै तय गरिएको छैन । तर, एमाले नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बाँसकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने संकेत गरेका छन् । नेता बाँसकोटाले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो संकेत गरेका हुन् ।

उनले ट्विटरमा, ‘आजै लिने भएछन् विश्वासको मत । हिजोको काँडाघारी प्रबन्ध र कोटेश्वर बैठकको फिडब्याक आउटकम’ लेखेका छन् । संसद् सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने तयारी भएको छ । त्यसबारेमा कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाबीच सहमति भइसकेको छ ।

देउवाले विश्वासको मत लिन सकेनन् भने प्रधानमन्त्री पद स्वतः खारेज हुन्छ र कामचलाउ प्रधानमन्त्रीमा परिणत हुनेछन् । देउवा संविधानमा उल्लेख सरकार गठनका अन्तिम उपधाराबाट प्रधानमन्त्री बनेका हुन् । त्यसैले विश्वासको मत लिन असफल भए उनैले प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गर्न सक्ने संवैधानिक व्यवस्था छ ।