नेपाली काँग्रेस मधेशीका समस्यासँगै रहेको : नेता केसी

भदौ ३० । २००७ सालदेखि नेपाली काँग्रेसले निरन्तर रुपमा मधेश र मधेशीको अधिकारका लागि विभिन्न संघर्ष गर्दै आएको र अहिले पनि उनीहरुका समस्या समाधानका निम्ति लागिपरिरहेको नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले बताएका छन् ।

नेपाली काँग्रेस नगरसमिति, राजविराजद्वारा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले कुनै पनि समुदाय, वर्ग र जातिसँग कुनै खालको भेदभाव नगरेको, सधँै समान व्यवहार गर्दै आएको बताए । नेकपा (एमाल) ले नेपाली काँग्रेसले संसद्मा लगेको संशोधन विधेयक पारित हुन नदिएको बताउँदै मधेशीलाई उनीहरुको अधिकार दिलाउनका लागि नेपाली काँग्रेस बहुमतमा आए फेरि संशोधनका लागि पहल गर्ने उनले बताएका छन् ।

मधेशको मसिहा दाबी गर्ने मधेशी दल आन्तरिक कलह र सत्ता लोभमा फसेकाले मधेशको समस्या समाधान नहुने उल्लेख गर्दै उनले प्रदेश नं २ अन्तर्गत स्थानीय निकायमा रहेका आफ्ना उम्मेदवारलाई विजयी गराउन मधेशी जनतासँग आग्रह गरे ।

सप्तरीको आर्थिक सामाजिक र व्यापारिक विकासका लागि नेपाली काँगे्रसले स्पष्ट योजना ल्याएको बताउँदै वर्तमान काँग्रेस नेतृत्वको सरकारले सप्तरीका बाढीपीडितको समस्या समाधान गर्न गम्भीर रुपमा लागेको उल्लेख गरे ।