काठमाडौं । नेपाली काँग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)को ३९औंँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
नेपाली काँंग्रेसले १४ औँ महाधिवेशन तयारी गरिरहँदा यो दिवस जिल्लाको स्थानीय परिस्थितिअनुसार मनाउन परिपत्र जारी गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । वि.सं. १९७१ भदौ २४ गते जन्मिएका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको हो ।
राजनीतिमा ‘बीपी’ र नेपाली साहित्यमा ‘विश्वेश्वर’को नामबाट परिचित कोइराला जहानियाँ राणा शासनविरुद्धको अथक योद्धा र नायक थिए । उनले राजनीतिलाई मूल्य र आदर्शको परिधिमा राखेका थिए ।
राणा शासनको अन्त्यसँगै ३६ वर्षको उमेरमा गृहमन्त्री बनेका कोइराला २०१५ सालको आमनिर्वाचनमा नेपाली कांँग्रेसले दुई तिहाइ स्थान प्राप्त गरेपछि उनी प्रधानमन्त्री बन्न सफल भएका थिए ।
बीपी कोइराला नेपालके पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन् । उनले जनतालाई सर्वोपरि राखेर गरेको राजनीति तत्कालीन राजा महेन्द्रलाई सह्य भएको थिएन । त्यसपछि राजा महेन्द्रले निर्वाचित सरकारलाई अपदस्त गरी प्रधानमन्त्री बीपीलगायतका नेतालाई सेनाको बलमा बन्दी बनाएका थिए ।
यसरी आठ वर्ष बन्दी बनाइयो, त्यसपछि ८ वर्ष प्रवास र फेरि स्वदेश फर्केर पञ्चायतविरुद्ध लड्दा कठोर काराबास र संघर्षमै बीपीको जीवन व्यतित भयो । ‘मानिस ठूलो होइन असल बन्नुपर्छ’ भन्ने मान्यतालाई आत्मसात गर्दै अगाडि बढेका थिए बीपी ।
उनले चाहेको भए जीवनभर जस्तै प्रधानमन्त्री बन्न पनि सक्थे । तर, बीपीले सत्ताभन्दा निष्ठा, आदर्श र त्यागको राजनीतिलाई महत्व दिइरहे ।