भदौ ३० । आपसी मेलमिलाप र एकताले नै राष्ट्रलाई बलियो र समृद्ध बनाउने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।
आज पर्साको पोखरिया नगरपालिकामा नेपाली काँग्रेसद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले हिमाल पहाड र तराईबीचको एकताले नै राष्ट्रको समृद्धिमा ठूलो भूमिका खेल्ने बताए । नेता पौडेलले उग्र पहाडवाद र मधेसवादको नारा लगाएर केही दलले राष्ट्रलाई कमजोर पार्न खोजिरहेको आरोप लगाउँदै सबै नेपालीको अधिकार प्रवद्र्धन गर्ने एक मात्र पार्टी काँग्रेसका उम्मेदवारलाई मतदान गर्नका लागि सबैलाई अनुरोध गरे ।
‘काँग्रेसकै नेतृत्वमा आयो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अब काँग्रेसकै नेतृत्वमा बघि बढ्छ समृिद्धको अभियान’ भन्ने नारा लगाउँदै उनले देशको विकासका लागि नेपाली काँग्रेसको नेतृत्व आवश्यकता रहेको बताए । मुलुकको हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपाली काँग्रेसको नेतृत्वमा नै लोकतान्त्रिक नेपालको समुचित विकास र समृद्धिको अभियान अघि बढ्ने नेता पौडेलले विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं सांसद राजेन्द्रबहादुर अमात्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियालगायतले कांग्रेसका उम्मेदवारलाई मतदान गर्न सम्पूर्ण मतदाताहरुमा अनुरोध गरे