माधव नेपाललाई एमालेको दोस्रो अध्यक्ष बनाउन ओली तयार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन लागेका छन् । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर ‘गिनिज बुक’ मा नाम लेखिने गरी ‘गद्दारी’ गरे पनि पार्टी बचाउन नेपाललाई दोस्रो अध्यक्ष बनाउन राजी भएको ओलीले बताएका हुन् ।

महाधिवेशनसम्म आफूले अध्यक्ष पद छोड्न नमिल्ने भन्दै ओलीले केन्द्रीय कमिटी बैठकमा पार्टी बचाउन नेपाललाई दोस्रो अध्यक्ष बनाउन पनि पछि नपरेको बताए । ‘पार्टी एकताका लागि आज नेपाललाई भेट्ने ओलीले बताएका छन् । नेपालले प्रस्ताव अस्वीकार गरे बैठकले उचित निर्णय लिने ओलीको चेतावनी छ ।  ओली र नेपालबीच आज निर्णायक वार्ता हुने बताइएको छ ।

वार्ताका लागि कार्यदलका पूर्वसदस्यहरु जुटेका छन् । ओलीले शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपालसहित २२ सांसदहरुलाई त्यसबारे स्पष्ट नपारी अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिकाले प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भइ अपराधपूर्ण कार्य के कति कारणले गरेको हो भन्दै २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण पत्र समेत पठाइएका थिए ।