सामाजिक सुरक्षा कोषका बारेमा आज सर्बोच्चको निर्णय

काठमाडौं । सामाजिक सुरक्षा कोषमा जाने-नजाने बिषयलाई स्वेच्छिक बनाउनु पर्ने भन्दै अन्तरिम आदेश मागेका २२ बैंकका कर्मचारीका मुद्दाको सुनुवाइ आज हुँदै छ । तीन वटा सुनुवाइपछि सर्बोच्च अदालतले आज अन्तरिम आदेश दिने÷नदिने निर्णय गर्ने छ ।

यसअघि दुबै पक्षको कुरा सुनेर मात्र आवश्यक निर्णय गर्ने भन्दै अदालतले सुनुवाइ तोकेको थियो । अस्ति मंगलबार दिनभरी बहश हुँदा पनि टुंगिएन । आज हुने छलफलपछि संयुक्त इजलासले अन्तरिम आदेश दिने÷नदिने निर्णय गर्दै छ । अहिले सामाजिक सुरक्षा कोषले बैंकहरुलाई पत्र लेखेरै अनिवार्य आउन भनेको छ ।

बैंकका कर्मचारीले भने अहिले पाइरहेको सुविधा पनि काटिने भन्दै जान मानिरहेका छैनन् । उनीहरुले अहिले नै राम्रो सामाजिक सुरक्षा पाइरहेकाले कोषमा नआउने बताउँदै आएका छन् । कोषले जबर्जस्ती गरेको भन्दै उनीहरु सर्वोच्चको ढोका ढकढक्याउन पुगेका हुन् ।

उनीहरुले यसलाई स्वेच्छिक बनाउन माग गरेका छन् । २२ वटा बाणिज्य बैंकका कर्मचारीले मद्दा हालेका हुन् । यसमध्ये नेपाल एसबीआई बैंक भने कोषमा दर्ता भइसकेको छ । कर्मचारीले आफ्नो अनुमति बिना कोषमा दर्ता गरेको भन्दै बिरोध जनाएका छन् । स्ट्यान्डर्ड चार्टर्ड र लक्ष्मी बैंक भने स्वेच्छाले नै कोषमा आबद्ध भइसकेका छन् ।