मधेशका जनताहरु एमालेको पक्षमा उत्साहित छन् : महासचिव पोखरेल

भदौ ३० । स्थानीय तहको तेस्रो निर्वाचनमा २ नं प्रदेशमा पनि आफ्नो पार्टीलाई पहिलो बन्नबाट कसैले पनि रोक्न नसक्ने नेकपा (एमाल)का महासचिव ईश्वर पोखरेलले बताएका छन् ।

सिरहा धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा आयोजित चुनावीसभा कार्यक्रममा बोल्दै उनले काँग्रेस, माओवादी केन्द्रलगायतका दलले जतिसुकै बल गरे पनि एमालेलाई २ नं प्रदेशमा पहिलो पार्टी बन्नबाट रोक्न नसक्ने दावी गरे ।

महासचिव पोखरेलले पहिलो र दोस्रो चरण अन्तर्गत स्थानीय तह निर्वाचनमा जस्तै २ नं प्रदेशमा पनि एमालेप्रति जनलहर छाएको भन्दै एमालेलाई यहाँका जनताले अत्यधिक मत दिएर पहिलो पार्टी बनाउने बताए । नेकपा (एमाल) ले तराई मधेशको विकासका लागि गरेका कार्यहरु र तराई मधेशमा ठूला पूर्वाधार निर्माण गरेर औद्योगिकीकरण गरी युवालाई स्वरोजगार गर्न अघि सारेका एजेण्डाले गर्दा तराई मधेशका जनताहरु एमाले पक्षमा उत्साहित देखिएको उनले भने ।

महासचिव पोखरेलले केही राजनीतिक दलले तराई मधेश र पहाडको बीचमा भावनात्मक दूरी बढाउने कोशिस गरिरहेको आरोप लगाउँदै मधेश र पहाडका जनताबीच बढ्दै गएको दूरीलाई कम गर्न र एकापसमा जोड्न आफ्नो पार्टी अघि बढेको विचार व्यक्त गरे ।

उक्त कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितले २ नं प्रदेशका जनताले अरु पार्टीका एजेण्डालाई अस्वीकृत गरी एमालेलाई जिताउने दाबी गरेका छन् ।