जनतालाई ऋण गरेरै भएपनि कोभिडविरुद्धको खोप दिन्छौं : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण गरेरै भएपनि नेपाली जनतालाई कोभिडविरुद्धको खोप लगाउने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले सरकारको प्रथामिकता नै नेपाली जनतालाई खोप लगाउने भएको बताएका हुन् ।

‘यो सरकारको प्राथमिकता भनेकै खोप हो, हामी खोप लगाउनका लागि प्रयत्न जारी राख्नेछौैं,’ प्रधानमन्त्री देउवाले भने, ‘ऋण सापटी गरेर भएपनि जतिसुकै महंगो मूल्यमा किनेर भए पनि हामी सम्पूर्ण नेपाली जनतालाई खोप लगाउने प्रयास गर्ने छौं ।

’ प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५÷७ महिना मात्र रहने भन्दै उनले यो छोटो अवधिमा पनि देखिने गरी काम गर्ने ठोकुवा गरे । ‘मलाई विश्वास छ, मेरो कार्यकाल पूरा हुँदासम्म केही न केही भिजिवल काम गरेर जानेछु,’ देउवाले थप जोड दिए ।