नीति निर्माण तहमा महिलाको सहभागीता आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडौँ, भदौ ३० । नीति निर्माण तहमा महिलाको समान सहभागिता र आर्थिक सशक्तीकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीले जोड दिएकी छिन् ।

‘नेपाली महिलाको संघर्ष र सफलता’ नामक वृत्तचित्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले महिला अघि बढ्नका लागि आर्थिक पाटो सबैभन्दा बलियो हुनुपर्ने बताउँदै त्यसतर्फ केन्द्रित हुन अनुरोध पनि गरिन् । राष्ट्रपति भण्डारीले छोरा र छोरीबीचमा कत्ति पनि विभेद नगरी समान शिक्षा र व्यवहार गर्नसमेत अनुरोध गरेकी छिन् ।

विभिन्न चरणमा भएका संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धि प्राप्तिका लागि महिलाले संयुक्त रूपमा संघर्ष गर्नुपर्ने उल्लेख गर्दै उनले राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका लागि भएका ऐन/कानूनको कार्यान्वयनसँगै नयाँ कानून निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड कुरामा पनि जोड दिएकी छिन् ।

सभामुख ओनसरी घर्तीले महिला, दलित तथा अन्य उत्पीडनमा पारिएको समुदायको अधिकार प्राप्तिका लागि पनि समयभित्रै संविधान कार्यान्वयन गर्नुपर्ने भएकाले त्यसतर्फ केन्द्रित हुन सबैसँग आग्रह गरिन् ।