मार्मीक रोशनले ल्याए ‘चाँदनी’

काठमाडौं, असोज १ । युवा गजलकार मार्मिक रोशनद्वारा लिखित ‘चाँदनी’ गजल संग्रहको विमोचन गरिएको छ । प्रमुख अतिथि वरिष्ठ गजलकार डा.कृष्णहरि बराल लगायत अन्य अतिथिहरुको उपस्थितिमा भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच रोशनको उक्त संग्रह विमोचन गरिएको हो ।

सो कार्यक्रममा बोल्दै बरालले उक्त संग्रहमा रोशनले व्यङ्ग्य र प्रेमका गजलहरु मिठास रुपमा आफ्नो भावलाई पगालेर गजल लेखेको वताए । लोककथाहरूको सन्दर्भ गजलमा ल्याएर नयाँ सन्दर्भमा जुन प्रयोग गरिएको छ वास्तवमा यो प्रशंसनीय काम रहेको बरालको भनाई छ । हरेक गजलकार आफैंमा एउटा समालोचक पनि हुने भन्दै बरालले कविताको समालोचना अर्कैले गरिदिनुपर्ने, उपन्यासको समालोचना अर्कैले गरिदिनुपर्ने तर, गजलको समालोचक आफैं नै हुने बताए । त्यस्तै कार्यक्रममा उपस्थित स्रष्टाहरूले आ–आफ्नो रचना वाचन पनि गरेका थिए ।


उनको गजल संग्रहबाट लिइएका केही लाइनहरू :

के बनाउछौं सरकार यो देश तिमीले
तिमीभन्दा राम्रो बरू कमिलाले बनाउँछन् ।।

उसका जीवनमा त धेरै भोगाइहरू छन्
र त आफ्ना गजलहरू चोटिलो बनाउँछन् ।।

यता सडकहरू भत्किन्छन्, जिर्ण हुन्छन्
उता मन्त्रीहरुको घरमा तला थपिन्छन् ।।

घरी आएको हुन्छ, घरी नआएको हुन्छ
जसरी पनि तिम्रो यादले सताएको हुन्छ ।।

हिजो खरायोसँग दौड जितेपछि
आज चरालाई जित्न कछुवा निस्कियो ।।

यौटा गरिब आङ ढाक्न दगुर्छ
सुनेर कालो झण्डा फालाफाल छ ।।

उता कहाँ कहाँ खोजेनन् विश्वलाई
यता सहिदको मुटुमा जगत भेटियो ।।

देख्ने कुरा केवल आँखाले देख्यो
आफू हिड्ने बाटो पैतालाले देखेनन् ।।

सानो छोरोले आज किसानलाई भन्यो
म ठूलो भएर एउटा नहर बनाउँछु ।।

जीवन के हो कसलाई कसलाई सोध्छौ ?
मलामी जाऊ चित बनाऊ पत्ता लाग्छ ।।

खुकुरी अगाडी पनि ऊ छाती थापिरहन्छ
मलाई अचानो सारै बहादुर जस्तो लाग्छ ।।

झुपडीमा एकै छाक पकाइदिन पनि
बडो मुस्किल भैदियो चुलोका लागि ।।

तिमी अध्ययन गर आजकालको यो दुनियाँ
घाउ बनाइदिन्छ अनि मलम देखाउछ ।।