प्रभु बैंकको संस्थापक शेयर लिलाम बढाबढमा बिक्री खुल्ला

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बढाबढ बिक्री गर्न लागेको छ । बैंकले त्यसरी लिलाम बढाबढमा २ लाख २ हजार १ सय ८६ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिदका लागि साउन १५ देखि २९ गतेसम्म बोलपत्रमार्फत आवेदन दिने सकिने छ । बैंकले सो शेयर संस्थापक समूहमा नै रहने गरी लिलाम बिक्री गर्न लागेको हो । सो शेयर खरिदका लागि ईच्छुक विद्यमान संस्थापक शेयरधनी लगायत अन्य ईच्छुक व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।

लिलाम बढाबढमा बिक्री गर्न लागिएको शेयरको न्यूनतम मूल्य २१० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १००० कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

सोभन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । बैंकको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड तोकिएको छ ।