निर्मला पन्तको दोषी पत्ता लगाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्यामा संलग्न रहेका दोषीलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ गृहमन्त्री बालकृष्ण खाँण र नेपाल प्रहरी प्रमुख शैलेश थापालाई बालुवाटार बोलाएर हत्यारालाई चाँडै भन्दा चाँडै पक्राउ गर्न निर्देशन दिएका हुन् ।

निर्मला हत्यामा अहिलेसम्म भएका अनुसन्धानबारे जानकारी लिँदै शीघ्र दोषी पत्ता लगाएर देउवाले कारबाहीका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । देउवाले निर्मलाहत्या प्रकरण अनुसन्धानबारे जानकारी लिएका छन् ।

निर्मलाको बलत्कार पछि हत्या भएको तीन वर्ष बितिसक्दा पनि प्रहरीले हालसम्म दोषी पत्ता लगाउन सकेको छैन । महेन्द्रनगरकी १३ वर्षीया निर्मलाको घर नजिकै उखुबारीमा शव फेला परेको थियो । निर्मला हत्याका दोषीलाई विभिन्न राजनीतिक दलका साथै संघ संगठनहरूले देशभर विरोध प्रदर्शन गरेको थियो ।