-
माया पन्त
जाजरकोट । खानेपानी आयोजना निर्माण पछि जाजरकोट जिल्लाको दुर्गम गाउँका स्थानीयलाई सुविधा पुगेको छ । लामो सय देखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयबासी अब देखि शुद्ध खानेपानी खाना पाउने भएका छन् ।
स्वीस रेडक्रसको सहयोगमा सामुदायिक शसक्तिकरणका लागी स्वास्थ्य प्रवद्र्धन कार्यक्रमको सहयोगमा नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र नेपालगंजको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जाजरकोटको आयोजनामा उक्त खानेपानी आयोजना निर्माण भएको छ ।
जिल्लाको त्रिवेणी नलगाड नगरपालिका ५ पोखरा लहँमा उक्त आयोजना निर्माण गरिएको हो । आयोजनाबाट ४५ घरमा एक घर धारा सहितको मिटर जडित खानेपानीका धारा निर्माण गरिएको छ । घरमा चौविसै घण्टा पानी आउन थालेपछि स्थानीय खुसी भएका छन । पानी नहुँदा लुगा धुन, नुहाउन, चर्पीमा पानी प्रयोग र अन्य सरसफाई गर्न निकै समस्या भोगेका स्थानीय अहिले भने अवस्था फेरिपछि दंग परेका छन ।
एक घर एक धारा सहितको मिटर जडित खानेपानीका धारा निर्माण
बर्षौ देखि कुवा, खोला र खोल्साको दुषित पानी खादै आएका स्थानीय अहिले शुद्ध पानी खाना पाउदा हर्षित भएका छन । शुद्ध पानीको अभावमा झाडापखाला लगायतका पानीजन्य रोगको प्रकोपबाट पिडित स्थानीयले अबदेखि मुक्ती पाउने भएका छन । महिलाहरुको पानी ल्याउन लाग्ने समयमा घरको अन्य कामकाज गर्न समयको बचत भएको सर्मीला चदाराले बताइन । चौबिसै घण्टा खानेपानीको सुविधा आएपछि अहिले धेरै सजिलो भएको उनको भनाइ छ ।
स्वीस रेडक्रसको सहयोगमा सामुदायिक शसक्तिकरणका लागी स्वास्थ्य प्रवद्र्धन कार्यक्रमको सहयोगमा खानेपानी तथा सरसफाई आयोजनाबाट खानेपानीका धारा तथा भाँडा राख्ने चाँङ्ग र फोहर फाल्ने खाडल बनाई दिएको हो । घरआँगन चिटिक्क परेका देखिन्छन् । गाँउमा एक घर एक धारा बनेपछि स्थानीयले शौचालयको पनि नियमित प्रयोग गर्न थालेको अर्का हेमबहादुर कुसारीले बताइ ।
खानेपानीलाई ब्यवस्थित बनाउन मर्मत संभार कोषको स्थापना गरिएको छ । भने प्रत्येक घरका धारामा मिटर जडान गरिएको छ । प्रतिमहिना सात युनिट सम्म पानी प्रयोग गर्नेले १५ रुपैया र थप प्रतियुनिटको १० रुपैयाका दरले शुल्क उठाउने गरिएको छ । योजनालाई दिगोपन ल्याउन र मर्मत संभार गर्न सहयोग पुर्याउने उद्देश्यले मिटर प्रणाली लागु गरिएको माझगाउँ खानेपानी आयोजना निर्माण समितिका अध्यक्ष गोपाल विक्रम कुुसारीले बताए ।
गाँउमा खानेपानीको निकै समस्या देखेपछि खानेपानी आयोजना निर्माणको लागी आवश्यक पहल गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटका मन्त्री हरीबहादुर बस्नेतले बताए । जिल्लामा सरकारी निकाय तथा विभिन्न संघ संस्थाहरुले धेरै गाउँहरुमा खानेपानी आयोजना निर्माण गरेपनि ती आयोजनाको दिगो व्यवस्थापन हुन नसकेको उनको भनाइ छ । यो बर्ष निर्माण भएका खानेपानी योजनाको अर्को बर्ष कुनै नाम निसानै रहदैनन, सार्वजनिक भनेपछि समुदायले लापरवाहि गर्ने गरेका कारण आयोजना दिगो रुपमा सन्चालन हुन नसकेको मन्त्री बस्नेतको भनाइ छ । मर्मत कसरी गर्ने, मासिक बिल कसरी उठाउने, मिटर कसरी हेर्ने भनेर उपभोक्तालाई तालिम दिएको छ । यसबाट स्थानीयलाई ठुलो राहत पुगेको मन्त्री बस्नेतको भनाइ छ ।
खानेपानी मर्मत संभार गर्नका लागि मर्मत संभार कोष स्थापन गरिएको छ । उपभोक्ता समितिको नाममा उपभोक्ताबाटै उठाइएको रुपैया र रेडक्रसको केहि रुपैया कोषमा जम्मा गरेर कोष खडा गरेको मन्त्री बस्नेतको भनाइ छ । उक्त आयोजनाका लागि रेडक्रसले १५ लाख ४५ हजार र स्थानीयको ४ लाख ६५ हजार श्रमदान गरी २० लाख ५१ हजार लागतमा आयोजना निर्माण भएको हो । यसबाट स्थानीयलाई ठुलो राहत पुगेको छ ।