काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले साउन ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (साउन १२ गते) अन्तिम दिन रहेको छ । बैंकले सो दिनदेखि ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर÷ऋणपत्र २०८४÷८५’ निष्काशन तथा बिक्री खुला गरेको थियो । सो ऋणपत्रको अवधि ७ वर्ष रहने छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट भने बाँकी ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ ।
सर्वसाधारणलाई बिक्री गरिएको कुल शेयरमध्ये ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई छुट्याइएको थियो । जसमध्ये १ हजार ५०० कित्ता बाँडफाँट गरिएको बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘केयर एनपी त्रिपल बी आईएस’ रेटिङ्ग प्रदान गरेको छ।