बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, मन्त्रिपरिषद बिस्तार छलफल हुने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एमाले माधव नेपाल पक्षका डा.विजय पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी भएका छन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने सहभागी भएका छैनन् ।  गठबन्धनको बैठकमा मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल हुने बताइएको छ । गठबन्धनमा आवद्ध जसपालाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेकाले सो पार्टीलाई सरकारमा सहभागी गराउने बिषयम छलफल हुने बुझिएको छ ।

सरकार बनेको दुई साता बितिसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । सरकारमा अहिले नेपाली कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुई मन्त्री सहभागी छन् । सम्भवतः आजै मन्त्रिपरिषद् विस्तार गर्ने टुंगोमा सत्तारुढ गठबन्धन पुग्ने भएका छन् ।