काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक दिउँसो ३ बजे ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा बस्ने छ ।
आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै वडामा आउँदो असोज पहिलो हप्ता वडा र दोस्रो हप्तामा पालिका तहमा अधिवेशन गर्ने निर्णय गरेको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग एकताका लागि प्रयास भइरहेको अवस्थामा ओलीले कार्यकता होल्ड गर्न तल्ला तहहरुको अधिवेशन तत्कालै गर्ने निर्णय गरेको हो ।
पार्टी विभाजन भएको अवस्थामा जति सक्यो कार्यकर्ता नेपाल पक्षमा जान नदिनका लागि ओलीले आकस्मिक रुपमा वडा र पालिका तहको अधिवेशन गर्ने निर्णय गरेका हुन् । यस्तै आइतबारको बैठकले भदौ अन्तिममा पार्टीको विधान महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ । भदौ २७ र २८ गते काठमाडौँमा विधान महाधिवेशन गर्ने निर्णय भएको छ । सोमबारको बैठकमा बाँकी विषयमा छलफल हुने छ ।