काठमाडौँ । कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा अन्योलमा परेको तथा अकस्मात स्थगित भएको भनेर आएका खबर हल्ला मात्रै भएको बोर्डले जानकारी दिएका छन् ।
कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले परीक्षा हुँदैन की भन्ने आशंका बढेको थियो । तर बोर्डले भौतिक रुपमै परीक्षा हुने जनाएको छ । गत जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले आउँदो साउन ३१ गतेदेखि गर्ने गरी यसअघि नै तालिका सार्वजनिक गरेको छ ।
परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको र तालिका फेरबदलको कुनै सूचना नआएकाले विद्यार्थीलाई अलमलमा नपर्न बोर्डले आग्रह गरेको छ । कक्षा १२ को परीक्षा होम सेन्टरमा लिइने, विद्यालयका भवन खाली रहेको अवस्था र दुर्गममा सङ्क्रमणको अवस्था सामान्य नै रहेकाले ठूलो समस्या नरहेको परीक्षा नियन्त्रकले जनाएको छ ।
परीक्षामा स्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने र एक बेन्च एक विद्यार्थी राखेर भौतिक उपस्थितिमै परीक्षा लिने गरी तयारी भइरहेको छ । यसवर्ष परीक्षामा तीन लाख ८६ हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।