चाडबाडको मुखमा जाजरकोटको दुर्गम गाउँमा खाद्यान्न अभाव

फोटो क्याप्सन : सदरमुकाम स्थित खाद्य संस्थानको गोदामबाट चामल लिदै गाउँबाट महिला । तस्वीर : माया पन्त

–  माया पन्त

जाजरकोट, असोज २ । दशैं लगाएतका चाडबाड नजिकीदै गर्दा अनुदानको चामल ढुवानी नहुँदा जाजरकोटका दुर्गम गाउँमा खाद्यान्न अभाव भएको छ । गाउँमा नयाँ बाली नपाकेको पुरानो अन्न सकिएको तथा अनुदानको चामल ढुवानी नहुँदा खाद्य अभाव भएको हो ।

रग्दाको चौखा, नायकबाडाको घाट, पजारुको घोगी र दशेरा खाद्य डिपोमा गत बर्षको अनुदानको चामल सकिएको र चालु बर्षको चामल ढुवानी नहुँदा दुर्गम गाउँमा खाद्य अभाव भएको हो । जिल्लाको बारेकोट गाउँपालिका, कुशेगाउँ पालिका, जुनीचाँदे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका तथा त्रिबेणी नलगाड नगरपालिकाका बासिन्दाले तत्काल अनुदानको चामल आपुर्तीको माग गरेका छन् । गाउँका घाट खाद्य डिपोमा चामल नहुँदा स्थानीय बासिन्दाले दशैमा भात खान नपाउने भएका छन् । गाउँमा खाद्य अभाव भएपछि डिपोमा चामल लिन आउने स्थानीय रित्तो हात घर फर्कने गरेका छन् ।

गत असार देखि डिपोले चामल उपलब्ध नगराएको र खाद्य अभावबाट पिडीत स्थानीय चामलका लागि डिपोमा बारम्बार धाउने गरे पनि रित्तो हात फर्कने गरेको छन् । गाउँघरमा पुरानो अन्न सकिएको, नया“ बाली नपाकेको र डिपोमा चामल उपलब्ध नहु“दा खाद्य अभाव भएको हो । नयाँ बाली पाक्न डेढ महिना बढी समय लाग्ने भएकाले त्यतिबेलासम्म भोकमरी बड्ने देखिएको छ । गाँउमा किनेर खाने अन्न पनि पाईदैन । गाँउमै उत्पादित अन्नले बर्ष दिनमा ६ महिना पनि खान पुग्दैन । बाँकी महिना खाद्य संस्थानकै चामलमा भर पर्नु पर्ने बाध्यता छ । यातायात असुविधा र बाटोघाटो निकै अफ्ठयारो भएकोले निजी क्षेत्रका ब्यापारीले विक्रीको लागी चामल नलिदा थप समस्या भएको हो । यतिवेला चामलको माग अत्याधिक भएपनि जिल्लामा अनुदानको चामल छैन ।

वारेकोट, पजारु, दह, गर्खाकोट र कोर्ताङ्गका बासिन्दा दैनिक उपभोग्य बस्तु घोडा खच्चडको भरमा छन् । दुर्गम गाउमा चामलको माग बढ्दो छ । सदरमुकामको गोदाममा गत बर्षको ५ सय क्विन्टल चामल थन्किएको छ । खाद्य संस्थानले चालु आर्थिक बर्षको चामल ढुवानीको लागी बोलपत्र आब्हान गरि ठेक्का स्वीकृत गरिसकेको जनाएको छ । चामल ढुवानीको जिम्मा पाएका ठेकेदारले ठेक्का सम्झौता नगरेका कारण चामल ढुवानी हुन नसकेको संस्थानले जनाएको छ । ठेकेदारलाई १५ दिन भित्र ठेक्का सम्झौता गर्ने म्याद दिईएको छ । यो म्यादको अन्तिम मिति असोज ७ मा पुग्छ । जबकी असोज ५ गते देखी दशै शुरु भैहाल्छ । ठेक्का सम्झौता गर्ने वित्तिकै ठेकेदार कम्पनीले ढुवानी गर्ने देखि दैन । दशै अघि चामल पुरयाउने अधिकतम कोशिस भएको निमित्त शाखा प्रमुख रामप्रसाद पौड्यालले बताए ।

जिल्लाका नायकबाडा, सक्ला, रामीडाँडा, रोकायगाउ, पजारु, कोर्ताङ्ग, मजकोट, दह, गर्खाकोट, सुवानाउली, दशेरा, साल्मा लगाएत गाउँका बासिन्दा अनुदनाको चामलमा निर्भर रहदै आएका छन । मकै बाली हावाहुरीले भाचेर क्षेती गरेको छ । बारेकोट क्षेत्रमा धान उत्पादन नहुने हुँदा बर्षेनी चामलको अभाव हुने गरेको छ । यतिबेला स्थानीयले जिल्लाका रिम्ना, कालीमाटी, घाट, तल्लोबगर, पाँचकाटीया, थलह लगाएतका बजारको महङ्गो चामल किनेर दैनिक गुजारा चलाउन वाध्य छन् ।

दुर्गम गाउँका स्थानीय बजारमा व्यापारीले कालो बजारी गर्दै आएका छन् । स्थानीय प्रशासनबाट दुर्गममा बजार अनुगमन नहुदा व्यापारीले चामल प्रती केजी १ सय रुपैंया, तेल लिटरको २ सय ५० , एक पोका भानु नूनको ५० रुपैंया मुल्य पर्ने गरेको बारेकोट गाउँपालिका ३ मुलसामका हर्कबहादुर चलाउनेले बताए ।