हेटौडा,२
बियर र ट्रकको बिमा रकम ठगी गर्न बनावटी दुर्घटना गराउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको ईच्छा कामना गाउँपालिकाको जलबिरेबाट त्रिशुली नदीमा ट्रक दुर्घटना गराई खसाल्ने हेटौडा ११ निवासी सन्तोष खत्री र नक्कली मालिक मनहरी गाउँपालिका ५ बस्ने उज्जवल कडेलसहित चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।
मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) बिकाशराज खनालका अनुसार दुबै जना गत भदौ २० गते एक बजे ठगीका लागि दुर्घटना गराउने ठाउँको अवलोकन गर्न गएका थिए । दुर्घटना गराउने ठाउँ चालक उज्जवल कडेलले देखाए । एसपी खनालका अनुसार
नवलपरासीबाट काठमाडौंका लागि १४ सय कार्टुन टुबोर्ग बियर लिएर हिडेको ना ५ ख ७२९७ को ट्रक मिति गत भदौं २६ गते चितवनको जलबीरेबाट त्रिसुली नदीमा खसेको जानकारी प्रहरीमा आयो । ट्रकका साहु भन्दै निर्मल सुबेदीले ईप्रका मुग्लिङमा १४ सय कार्टुन बियरसहित ना ५ ख ७२९७ को ट्रक दुर्घटनामा परेको जानकारी गराए । मुग्लिङ प्रहरीले तत्कालै घटनाको अनुसन्धान अघि बढायो । २६ गते साँझ नै ईप्रका मुग्लिङमा ट्रकका मालिक सुबेदीले बिमाको रकम पाउने उद्देश्यका लागि निबेदन पनि दिए ।
ना ५ ख ७२९७ को ट्रक मिति गत भदौं २५ साँढे ४ बजे नवलपरासीको भेडाबारी स्थित गोर्खा ब्रुअरीबाट १ हजार ४ सय कार्टुन टुवर्ग बियर काठमाडौं पुर्याउन हिडेको ट्रक काठमाडौंसम्म आइपुगेन । चालक र अन्य तीन जना मिलेर चितवनको गितानगरमा अर्को ट्रकमा पल्टी गरे । साँझ ७ बजेदेखि १० बजेसम्म लगाएर १ हजार २ सय कार्टुन बियर अर्को ट्रकमा पल्टी गरे । २ सय कार्टुन बियर भने सोही ट्रकमा राखियो । पल्टी गरेको बियरसहित अर्काे ट्रक भदौं २६ गते हेटौडा उपमहानगरपालिका ११ थानाभर्याङमा आएर बस्यो । भोलीपल्ट २७ गते १ हजार २ सय कार्टुन हेटौडा उपमहानगरपालिका २ नयाँ मनकामना रोड कुमाणमणी दहालको घरमा लुकाइयो । सो बियर भदौ ३१ गतेसम्म हेटौडा १३ पदमपोखरीमै लुकाई छिपाई राखियो । २६ गते नै नवलपरासीबाट सामान लोड गरेको ना ५ ख ७२९७ को ट्रक भने सामान झिकेर त्रिसुली नदीमा खसालियो । तर दुर्घटना पश्चात चालक कडेललाई कुनै चोटपटक नलागेको देखेपछि शंका हुन्छ, काम सफल नहुन सक्छ भन्दै २७ गते आफैले आफ्नै खुट्टा काटियो । आफूलाई सन्तोष खत्री भन्दै निर्मल सुबेदीले नै उज्वल कडेललाई भाँडा पसलमा लगेर चक्कु खरिद गरे अनि कपडा पसलमा गई ब्यान्डेज कपडासमेत किनी भरतपुर यातायात कार्यालय चौबिसकोटी नजिक झाडीमा गई बाँया खुट्टाको घुँडामाथि चक्कुले काटे । त्यसलगत्तै नेशनल मेट्रोसिटी अस्पतालमा लगी ६ टाँका लगाइयो । दुर्घटनामा परेको प्रमाणित गर्न सुवेदीले आफैलाई चक्कुले काटेर गम्भीर चोट बनाए । तर प्रहरीले अनुसन्धानको सुरुमै घटना बनावटी शंका गर्यो । अनि थाल्यो गोप्य अनुसन्धान । मकवानपुर प्रहरी प्रमुख खनालले बनाए अनुसनधानमा पोख्न बिशेष टोली । उनैले अनुसन्धान टोलीलाई निर्देश गरे । असोज ३० गते प्रहरीलाई गोप्य सूचना आयो, ट्रकको सामान हेटौडातिरै छ भन्ने । गोप्य अनुसन्धानबाट पाएको सूचनाका आधारमा असोज १ गते हेटौडा उपमहानगरपालिका १३ पदमपोखरीस्थित मणी लामाको घरमा प्रहरीले छापा मार्यो । छापा मार्दा भेटियो ५३७ कार्टुन टुबोर्ग बियर । सोही स्थानका बुद्ध तामाङको घरमा ४ सय २३ कार्टुन टुवर्ग बियर फेला पर्यो । जस्को मुल्य ३७ लाख रहेको छ । यो घटनापछि अनुसन्धानले नयाँ मोड लियो । त्यसलगत्तै १४ सय कार्टुन बियर र ट्रकको बिमा रकम ठगी गर्न जानजान त्रिशुलीमा ट्रक खसालेको पुष्टि भयो । सोही आधारमा जानजान दुर्घटना गराउने चालक मकवानपुर मनहरी गापा ५ निवासी उज्वल कडेल, प्रमुख योजनाकार हेटौडा ११ निवासी सन्तोष खत्री, नक्कली ट्रक मालिक हेटौडा १९ निवासी निर्मल सुबेदी र हेटौडा १३ निवासी मणी लामा पक्राउ परे । दुर्घटना गराइएको ट्रक हालसम्म पनि त्रिशुली नदीमै रहेको प्रहरीले जनाएको छ ।