दाप्चालाई धार्मिक–सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गरिने

बनेपा, ६ भदौ । पूर्वी ढोकाका रूपमा परिचित काभ्रेपलाञ्चोकको दाप्चा क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन यहाँका नागरिकले जोड दिएका छन् । विपी राजमार्ग सञ्चालनमा आएसँगै पर्यटकीय र सांस्कृतिक सम्पदाले भरिपूर्ण ऐतिहासिक नगरी दाप्चा क्षेत्र विकास र प्रवद्र्धनका हिसाबले पछाडि परेको भन्दै यहाँका नागरिकले सो क्षेत्रको विकासमा पहल गर्न आग्रह गर्दै आएका छन् ।
राजधानी काठमाडौँबाट नजिक रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको नमोबुद्ध गुम्बाले परिचित सो ठाउँ नजिकै रहेको दाप्चामा प्रशस्त पर्यटकीय सम्भावना छन् । बनेपाबाट दाप्चा हुँदै पैदलयात्राबाट हुने व्यापारिक नाकाका रूपमा रहेको सो ठाउँ विपी राजमार्ग सञ्चालनमा आएसँगै ओझेल परेको हो । विभिन्न कलात्मक घर, मठमन्दिर र प्राकृतिक सुन्दरताले भरिपूर्ण पुरानो ऐतिहासिक सम्पदा भएको सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न कोटकालिका एकीकृत विकास तथा मन्दिर संरक्षण समितिसमेत गठन भएको छ ।
यहाँका युवाले पनि दाप्चाका दुई बजारमा ऐतिहासिक कृष्ण जन्माष्टमीको विशेष जात्रा हुने दाप्चा क्षेत्रको पर्यटकीय विकासका लागि योजना बनाइरहेका छन् । सांस्कृतिक हिसाबले विशेषगरी कृष्ण जन्माष्टमीको रथयात्रा र भीमसेन जात्रा हुने सो क्षेत्रमा दाप्चा आसपासका नागरिकको सहभागिता हुँदै आएको छ । करिब चार सय १५ वर्ष पुरानो जात्रालाई दाप्चाका स्थानीयले प्रत्येक घरधुरीबाट पैसा उठाएर जात्रा मनाउने कामलाई निरन्तरता दिँदै आएको स्थानीय बासिन्दा बताउँछन् ।
श्रीकृष्ण जन्माष्टमी, नवदुर्गा जात्रा समिति, तल्लो हटियाका अध्यक्ष शिव श्रेष्ठले गुठियारबाट उठाएको पैसाले जात्रा चलाउन कठिन भएकाले राज्यबाट पनि सहयोग गर्नुपर्ने बताउनुभयो । सांस्कृतिक संरक्षण र प्रवद्र्धनका लागि स्थानीय, प्रदेश र सङ्घ सरकारले समेत सहयोग गर्नुपर्ने बताउँदै दाप्चाका पुरानो जात्रा सञ्चालन र संरक्षणका लागि स्थानीय तहले सहयोग गरे पनि त्यो पर्याप्त नभएको माथिल्लो हटियाका स्थानीय युवा जीवन श्रेष्ठले बताउनुभयो । तल्लो हटियामा विसं १६६४ देखि र माथिल्लो हटियामा विसं १९६० र कोट हटियामा विसं २००० देखि जात्रा सुरु हुँदै आएको शिलालेखहरूमा उल्लेख छ ।
दाप्चामा नवदुर्गासहित गणेश, लाखे नाच, महादेव, देवी, भैरव, पार्वती, विष्णु, लक्ष्मी, वाराही, महाकालीका साथै राजारानी र हंशभारत नाच हुन्छ । जात्रा मनाएपछि घरपरिवार र शरीरमा भएको सबै प्रकारका समस्या नाश भएर जाने धार्मिक मान्यता छ । सो अवसरमा लाग्ने मेलामा रोजगार र व्यावसायिक कामले विभिन्न स्थानमा गएका परिवारका सदस्य र आफन्त आउने गरेका छन् ।
अध्ययन, रोजगार, व्यापारलगायत विभिन्न कामका सिलसिलामा काठमाडौँ, बनेपालगायतका सहरमा बसोबास गर्न थालेपछि जात्रालाई निरन्तरता दिन समस्या उत्पन्न हुने भन्दै यहाँका स्थानीय युवा यसको संरक्षणमा जुटेका छन् । केही युवा परम्परागत नृत्य सिकेर यसलाई पछिल्लो पुस्तासम्म विस्तार गर्ने क्रममा छन् ।
विविध क्षेत्रबाट महत्व बोकेको दाप्चा क्षेत्रको विकासका लागि नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले सो क्षेत्रको पर्यटकीय विकासका लागि नगरपालिका योजना बनाएर लागिरहेको बताउनुभयो । आफू नगरपालिका प्रमुखमा विजयी भएपछि पहिलोपटक प्रदेश राजधानी हेटौँडा पुगेर संस्कृति तथा पर्यटनमन्त्रीलाई भेटी दाप्चा क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वको क्षेत्र बनाउन प्रस्ताव पेश गरेको बताउनुभयो । सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकासका लागि नगर प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
कृष्ण जन्माष्टीको रथयात्रा र भीमसेन जात्रा अवलोकन गर्न शनिबार दाप्चा पुग्नुभएका बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले नमोबुद्ध नगरपालिकाको माथिल्लो भेग दाप्चा क्षेत्रको सांस्कृतिक र पर्यटकीय विकास गर्न बागमती प्रदेश मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । “पर्यटकीय र सांस्कृतिक सम्पदाले भरिपूर्ण ऐतिहासिक नगर दाप्चाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

यसअघि पनि प्रदेश सरकारले दाप्चा कोटकालिका मन्दिर क्षेत्रमा केही पूर्वाधारका लागि सहयोग गरेको र अब विभिन्न क्रमागत योजनामार्फत यो क्षेत्रको विकास गर्न प्रदेश सरकारले काम गर्ने उहाँले बताउनुभयो ।