राष्ट्रिय खेलकुदका लागि छनोट सुरु

म्याग्दी, ८ भदौ (रासस) ः आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुन लागेको नवाँै राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्न थालिएको छ ।

भदौ १२ गतेसम्म जिल्लास्तरका खेलाडी छनोट गरिसक्ने राष्ट्रिय खेलकुद परिषद्को समय तालिकाअनुसार यहाँ छनोटलाई तीव्र बनाइएको हो । जिल्लामा इच्छुक खेलाडीको नाम दर्ता गरेर छनोट गराउन थालिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

सोह्र खेलमा प्रदेशस्तरीय छनोटमा सहभागी गराउने योजनाअनुसार आर्चरी, कवड्डी र तेक्वान्दो खेलका खेलाडी छनोट गरिएको समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । “सम्बन्धित खेलकुद सङ्घसँग समन्वय गरेर खेलाडी छनोटको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “जिल्लाबाट छनोट भएका खेलाडीलाई प्रदेशस्तरीय प्रतिस्पर्धामा सहभागी गराइ राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने कार्यविधि छ ।”

जिल्लामा अन्य खेलका भदौ १० गतेसम्म छनोट गर्ने अध्यक्ष केसीले बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पूर्वाधार निर्माण, खेल प्रशिक्षण र व्यवस्थापकीय काम सुरु गरेको छ । देशभरबाट खेलाडी छनोटसँगै गण्डकीको राजधानी पोखराबाहेकका सहरमा पनि प्रतियोगिताको खेल खेलाउन लागिएको राखेपका सदस्य राजेश गुरुङले बताउनुभयो ।

विसं २०७७ मा हुनुपर्ने नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता पछिल्लो पटक असोज–कात्तिक महिनामा सारिएको थियो । पोखरा रङ्गशालालाई मुख्य खेलस्थल मानेर पोखरा नजिकैका गण्डकीका अन्य सहरमा पनि खेल सञ्चालन गर्ने तयारी राखेपले गरेको छ । यसैगरी राष्ट्रिय महिला भलिबल टिमका क्याप्नेट अरुणा शाहीलगायत सात जनालाई बेनीमा शनिबार सम्मान गरिएको छ ।

जिल्ला भलिबल सङ्घको कार्यालय स्थापनाको अवसरमा म्याग्दीको भलिबल खेलको विकासमा योगदान गरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा टिम क्याप्टेन शाही, भलिबल खेलाडी मुन्ना केसी, गङ्गा केसी, जिल्ला खेलकुद विकास समितिका पूर्वध्यक्ष कृष्णकुमार विश्वकर्मा, भलिबल सङ्घका पूर्व अध्यक्ष रमेशकुमार श्रेष्ठ, पूर्व सचिव विनय श्रेष्ठ, भलिबल रेफ्री डिबी श्रेष्ठ रहनुभएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँ लगायतले सम्मानपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । जिसस प्रमुख थापाले बेनीको शिक्षा मार्गमा स्थापना भएको भलिबल सङ्घको कार्यालय पनि स्थापना गर्नुभयो । सङघले जिल्लाका छ वटै स्थानीय तहमा पनि समिति विस्तार गरेको छ ।