नेपालको संविधानले जनताको अधिकार प्रत्याभूत गरेको : राष्ट्रपति

काठमाडौँ, असोज ३ । संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम होस् भनी राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरेकी छिन् ।

संविधान दिवस २०७४ का अवसरमा राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको आजको दिन महत्वपूर्ण ऐतिहासिक दिन भएको उल्लेख गरिन् । संविधान जारी भएपछि सम्पन्न गर्नुपर्ने स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने प्रादेशिक र संघीय निर्वाचन घोषणा भएर त्यसको तयारीमा हामी जुटिरहेको बताउँदै यी सबै निर्वाचनले राज्य संचालनका संवैधानिक र कानुनी व्यवस्था एवम् लोकतन्त्रका संरचनालाई थप संस्थागत र सुदृढ गर्नेमा आफुले विश्वास लिएको बताइन् ।

आजको दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा मिल्ने र यसप्रति सबै नेपाली कृतसंकल्पित हुने विश्वास व्यक्त गर्दै उनले नेपालको संविधानले धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नाका साथै सबै तह, तप्का, वर्ग र क्षेत्रका जनताको अधिकार प्रत्याभूत गरेको उल्लेख गरेकी छिन् ।

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताउँदै राष्ट्रपति भण्डारीले कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवद्र्धनमा केन्द्रित रहनु जरुरी भएको भन्दै जोड दिएकी छिन् ।