काठमाडौँ, १५ भदौ । नेकपा (एमाले)ले यही भदौ २० गतेभित्रमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको सिफारिस केन्द्रमा गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । भदौ १३ गतेदेखि दुई दिनसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको चौथो केन्द्रीय कमिटी बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भदौ २० भित्रमा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देशन दिएको बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
पार्टीले समानुपातिकतर्फको बन्दसूचीका लागि उम्मेदवारको प्रस्ताव पठाउँदा सन्तुलन, समावेशी र अवसरको न्यायोचित वितरणलाई समेत ध्यान दिन जिल्ला कमिटीबाट सिफारिस गर्न निर्देशन दिएको छ । जिल्ला कमिटीले सिफारिस गरेको उम्मेदवारको प्रदेश कमिटीले आफ्नो राय भए सोसमेत उल्लेख गरेर केन्द्रमा पठाउने र केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको प्रत्यक्ष वा समानुपातिकतर्फको निर्णयलाई पुनःविचार गर्नसक्ने उहाँले बताउनुुभयो ।
जिल्लाको सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले प्रतिनिधिसभा सदस्यको उम्मेदवारको सिफारिस गर्नेछन् । यस्तै एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्ला कमिटीको बैठकबाट उम्मेदवारको सिफारिस गर्ने र प्रदेशसभा सदस्यको उम्मेदवारको सिफारिस पनि निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले गर्नेछ ।
यसरी सिफारिस गर्दा जिल्ला कमिटी र प्रदेश कमिटीले आफ्नो रायसमेत उल्लेख गरी सिफारिस गर्नुपर्नेछ । उहाँका अनुसार मातहतका कमिटीले प्रत्येक निर्वाचन क्षेत्रबाट तोकिएको मापदण्ड पूरा गरेका कम्तीमा एक जना महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेछ ।
एमालेले निर्वाचनका लागि उम्मेदवारको छनोटका पाँच वटा मापदण्ड तय गरेको छ । प्रचार विभाग प्रमुख गुरुङका अनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चिता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता तथा निर्वाचन कानूनबमोजिमको योग्यता रहेका छन् ।