मुगुमा शाही सर्वसम्मत उम्मेदवार सिफारिस

गमगढी, २० भदौ । नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको छ ।

पार्टीको जिल्ला कार्यसमिति बैठकमा शाहीलाई उम्मेदवार बनाउन सहमति भएको पार्टी सचिव लोकेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला कार्य समितिले प्रतिनिधिसभामा समानुपातिकतर्फ खस आर्यबाट पूर्व राज्यमन्त्री हस्तबहादुर मल्ल, महिलातर्फ धनसिला मल्ल, र खुल्लातर्फ मीन भामको नाम उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।

यस्तै बैठकले कर्णाली प्रदेशसभा ‘क’ का लागि प्रत्यक्षतर्फ खगेन्द्रबहादुर मल्ल, हरिजङ्ग शाही र तिलकबहादुर मल्लको नाम सिफारिस गरेको छ । बैठकले प्रदेश ‘क’ समानुपातिकतर्फ सूर्यदेवी मल्ल, पदम रावल, लक्ष्मी रावत, भीम तिरुवा, च्यावा लामा, फुन्जोक लामा, रमाइली रावल र खुम्मेनी विकको नाम सिफारिस गरेको सचिव मल्लले जानकारी दिनुभयो ।

यस्तै प्रदेशसभा ‘ख’ का लागि प्रत्यक्षतर्फ खड्कबहादुर शाही, रतनबहादुर शाही र लेकविक्रम शाह तथा समानुपातिकतर्फ जन्मञ्जय भण्डारी, महेश गिरी, रुपकर्ण शाही, गोमा गिरी र लोकबहादुर शाहीको नाम बैठकले सिफारिस गरेको छ ।