दमौली, २६ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माणाधीन रहेको सभागृहको आज अनुगमन गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले निर्माणाधीन सभागृह, सभागृह प्राङ्गणमा निर्माण गर्न लागिएको विभिन्न संरचनाको अनुगमन गर्नुभएको हो ।
अनुगमनका क्रममा वरिष्ठ नेता पौडेलले सभागृहको काम ढिला भएकाले छिटो काम सक्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । सो क्रममा वरिष्ठ नेता पौडेलले सभागृह प्राङ्गण बाहिर निर्माण हुन लागेको सुरक्षा गार्ड भवन, उद्यानलगायत विषयमा चासो राख्नुभएको थियो ।
पुरानो जिल्ला प्रशासन कार्यालय तनहुँको भवन भत्काएर सोही ठाउँमा सुरक्षा गार्ड बस्ने भवन निर्माण सुरु भएको छ । सभागृहको सुरक्षाका लागि सुरक्षा गार्डका लागि भवन निर्माण थालिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो । सभागृह वरपर कम्पाउण्ड पनि निर्माण भइरहेको छ । सभागृह बाहिरपट्टि उद्यान पनि निर्माण गर्ने लक्ष्य रहेको वाग्लेले बताउनुभयो ।
अनुगमनका क्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा पनि सहभागी हुनुहुन्थ्यो । विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना कहरका कारण ढिलाइ भएको थियो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने उक्त भवन कोरोनाको चपेटामा परेको थियो । भ्याटबाहेक रु २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ को लागतमा भवन निर्माण भएको थियो ।
सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मतसम्भारको अवधि राखिएको छ । सात सय ५० क्षमता भएको सभाहलको बेस ग्राउण्डमा २० कार तथा ७० मोटरसाइकल पार्किङ गर्न सकिनेछ । उक्त भवनमा मुख्य सभाहलबाहेक एक सय ५० क्षमताको सेमिनार हल निर्माण हुनेछ । सभाहल बाहिर फाउण्टेन सहितको भिआइपी पार्किङस्थल रहनेछ । सभाहल ५३ मिटर लम्बाइ, १५ उचाइ र २५.५ चौडाइको हुनेछ ।