बेनी–जोमसोम सडकमा छ दिनपछि यातायात सञ्चालन

a]gL–hf]d;f]d ;8s lj:tf/ a]gL–hf]d;f]d–sf]/nf ;8s cfof]hgf cGtu{t DofUbLsf] cGgk"0f{ ufpFkflnsf–# bfgfdf ;8s lj:tf/ ul/Fb} . tl:j/ ;Gtf]if uf}td, DofUbL, /f;;

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडकमा छ दिनपछि सिधा यातायात सञ्चालन भएको छ ।

पहिरो र बाढीका कारण असोज १८ गते रातिदेखि अवरुद्ध भएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा आज साँझदेखि सवारी सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजनाका निरीक्षक इन्द्रसिंह शेरचनले पहिरो पन्छाएपछि सडकमा यातायात सञ्चालन हुन थालेको जानकारी दिए । म्याग्दीको बैसरी, नौनीबगर, जलथले, गुइठे, रुप्से र काभ्रेभिरमा पहिरो तथा बेगखोला, रुप्सेखोला र मुस्ताङको मार्फाखोलामा बाढीका कारण सडक अवरुद्ध बनेको थियो ।

आयोजनाको डोजर परिचालन गरेर पहिरो पन्छाइएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनलगायत जनप्रतिनिधि आफ्नो क्षेत्रमा पहिरो पन्छाएर यातायात सञ्चालनमा खटिएका थिए । पानी पर्न छाडेपछि खोलामा बाढीको सतह घटेर यातायात सञ्चालन हुन थालेका छन् । बीच सडकमै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सडक अवरुद्ध हुँदा यात्रुले सवारी साधन परिवर्तन गरेर गन्तब्यमा पुग्नुपर्ने बाध्यता थियो ।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिरोले ठाउँ ठाउँमा अवरुद्ध हुँदा मुस्ताङको पर्यटन व्यवसायमा असर परेको छ । विगतका वर्षमा दसैँ लगत्तै घुम्न आएका पर्यटकले भरिभराउ हुने म्याग्दी र मुस्ताङका होटल सुनसान छन् । आवतजावतका साथै मुस्ताङमा उत्पादन भएको स्याउ, आलु लगायत कृषि उपज निकासी र निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान ढुवानी प्रभावित भएको छ । बेनी–जोमसोम सडकले म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई पनि राष्ट्रिय राजमार्गसँग जोड्छ ।