काठमाडौँ, ५ असोज । मुलुकमा शान्ति भएमात्र आर्थिक विकास हुने नेपाली काँग्रेसका नेता डा. रामशरण महतले बताएका छन् ।
नेपाल युवा परिषद्द्वारा विश्व शान्ति दिवसका अवसरमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको महत्व र यसका उपलब्धि’ कार्यक्रममा डा. महतले जहाँ शान्तिपूर्ण स्थिति सिर्जना हुन्छ त्यहाँ चाँडो विकास हुने बताए । दश वर्षे जनयुद्ध र मधेस आन्दोलनका कारण नेपालको विकास हुन सकेन हुन नसकेको उनको भनाई छ । संविधानमा युवाको अधिकारलाई धेरै मात्रामा समेटेको भए पनि व्यवहारमा लागू नहुँदा समस्या उत्पन्न भएको पूर्व अर्थमन्त्री डा. महतले बताए । उनले स्थायी सरकार नहुँदा नेपालको शान्ति प्रक्रियाले पूर्णता लिन नसकेको उल्लेख गरेका छन् ।
नयाँ शक्ति नेपालका नेता खिमलाल देवकोटाले विस्तृत शान्ति सम्झौतालाई इमान्दारिताका साथ पालना नगर्दा मुलुकको विकास हुन नसकेको बताएका छन् । उनले युवाको हक, अधिकारका लागि वर्तमान सरकारले केही पनि नसोचेको बताए ।चेलीबेटी बेचबिखनविरुद्ध राष्ट्रिय सञ्जालका अध्यक्ष भारती सिलवाल (गिरी)ले सामाजिक विकासका लागि युवाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
देशको परिवर्तनमा युवाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले प्रत्येक प्रदेशमा युवाका लागि मन्त्रालय स्थापना गर्नुपर्ने कुरामा जोड दिए । परिषद्का अध्यक्ष सरोज बानियाँले दश वर्षे जनयुद्धका बेला लडेका युवाको भविष्य अन्योलमा परेको भन्दै उनीहरुले कुन लक्ष्य प्राप्तिका लागि युद्ध लडेका थिए त्यसको पुनरावलोकन राज्यले गर्नुपर्ने कुरामा जोड दिए ।