आपत्कालीन चिकित्सा सेवा प्रदान गर्न ग्रामीण प्राथमिक उद्घारकर्ता तालिम सुरु

ग्रामीण स्थलहरुमा बिरामी वा घाइतेलाई आपत्कालिन चिकित्सा सेवा प्रदान गर्ने उद्देश्यले लुम्बिनीमा तिन दिने ग्रामीण प्राथमिक उद्घारकर्ता तालिम प्रारम्भ भएको छ ।

लुम्बिनी सामाजिक सेवा प्रतिष्ठानको आयोजनामा भएको सो कार्यक्रम लुम्बिनी इमरजेन्सि रेस्पोन्स नेटवर्कको आर्थिक सहयोग र मेडिकल टिम्स इन्टरनेसनल नेपालको प्राविधिक सहयोगमा प्रारम्भ भएको हो । कार्यक्रममा सहभागीलाई कृतिम स्वासप्रश्वास विधी, घाइतेको वर्गीकरण गर्ने तरिका लगायतका सिप सिकाइनेछ ।

टाउको, ढाड, मांसपेशी, हड्डीको चोट, घाउ, पोलाई तथा आँखा र दाँतको चोटको चिन्ह र लक्षणहरुको जानकारी दिँदै सामान्य प्राथमिक उपचार विधी पनी सिकाइने बताइएको छ । सहभागीलाई मुटु सम्बन्धी समस्या, मस्तिष्क घात, श्वासप्रश्वास समस्या, पेट सम्बन्धी समस्या, एलर्जी, मधुमेह तथा वातावरणीय समस्याको सामान्य जानकारी र प्राथमिक उपचार विधीको समेत तालिम दिइने छ ।

प्राकतिक प्रकोप तथा दुर्घटनामा बिरामी वा घाइतेलाई स्थानीय साधन र स्रोतको प्रयोग गरी सुरुवाती हेरचाह तथा थप हानी हुनबाट बचाउन कार्यक्रममा प्रशिक्षण दिइने कायक्रमका एक प्रशिक्षक डा. रामहरी रेग्मीले जानकारी गराएका छन् ।

नेपालका ग्रामिण स्थलमा दुर्घटना तथा प्रकोप हुँदा डाक्टर तथा अन्य चिकित्सकीय जनशक्तिको कमीले क्षती बढीरहेको अवस्थामा ग्रामीण प्राथमिक उद्घारकर्ता तालिम कार्यक्रमले क्षतिको न्यूनिकरण गर्न सहयोग पुर्याउने कार्यक्रममा सहभागी सन्तोष दाहालले बताए ।