विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७४ पारित

काठमाडौँ, असोज ९ । ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७४’लाई व्यवस्थापिका–संसद्को आजको बैठकले सर्वसम्मतिले पारित गरेको छ ।

गृहमन्त्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदन समक्ष राखेका थिए । यसअधि सो विधेयकको दफावार छलफलमा भाग दिँदै नेकपा (एमाले)का डा गंगालाल तुलाधरले विधेयकलाई कार्यान्वयन पक्ष बलियो बनाउन विपद् जोखिम न्यूनीकरण व्यवस्थापन केन्द्र होइन, प्राधिकरण बनाउन सुझाव दिँदै व्यवस्थापन प्राधिकरणमा निजामती कर्मचारी होइन, विषय विज्ञ राख्नुपर्ने भनेका थिए ।

नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे र सीता नेपालीले संघीयताको मर्म अनुरुप विपद् जोखिम न्यूनीकरण व्यवस्थापन केन्द्र बनाउनुपर्ने बताए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विपद्को परिभाषाको दायरालाई फाराकिलो बनाउन सुझाव दिएका छन् । गृहमन्त्री शर्माले छलफलमा उठेका प्रश्नको जवाफमा प्राकृतिक जोखिममा नेपाल रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण गर्न विधेयक आएको बताए ।

विपद्पूर्व र विवपद्का समयका क्षति न्यूनीकरण गर्न विधेयक आएको चर्चा गर्दै उनले प्राकृतिक तथा गैरप्राकृतिक विपद् व्यवस्थापन गर्न परिभाषा स्पष्ट पारिएको र संघीयताको मर्म अनुरुप नै विधेयक आएको बताएका छन् ।