सदरमुकाम खलंगामा गत वर्षको चैत्र २६ गते हत्या गरिएका नेपाली काँग्रेस जाजरकोटका नेता रविन्द्र शम्शेर शाहका वुवा योग शम्शेर शाहले आफनै पार्टीको सरकार हुदा पनि छोराका हत्याराहरुलाई कारवाही नगरेको गुनासो गरेका छन् । हत्या भएको लामो समय भईसक्दा पनि हत्याराहरुलाई कुनै कारवाही नगरिनु भनेको दुखको कुरा भएको उनले वताए । नेपाल प्रेस युनियन जाजरकोट शाखाले स्व. रविन्द्र शम्शेर शाहको नाममा पत्रकारीता पुरस्कार घोषणा गर्न आयोना गरेको कार्यक्रममा उनले आफ्ना गुनासो पोखेका हुन् । न्याय माग्न गृहमन्त्री प्रधानमन्त्री सम्म पुग्दा पनि कसैले न्याय नदिएको उनले बताए ।
पार्टीका लागि ज्यानै दिएर लाग्यो तर आज छोरो मर्दा कसैले सहयोग गरेनन् उनले भने । स्वर्गीय रविन्द्रकी आमा शिला शाहले पनि आफुहरुले सरकारवाट केहि नखोजेको तर छोराको हत्याराहरुलाई कारवाहि गरे मनमा शान्ति मिल्ने वताइन् । उनले प्रश्न गर्दै भनिन्– सरकार छ कानुन छ भन्छन् मेरा छोराका हत्याराहरु किन पक्राउ पर्दैनन् ? । रविन्द्रका दाइ रामजंग शाहले एउटा पार्टीको सक्रिय कार्यकर्ता मरेको यतिका समय वितिसक्दा पनि नेपाली काँग्रेसले कुनै खालको पहल नगरेको गुनासो गरे । उनले लोकतन्त्रमा पनि नागरिक हत्याका दोषीहरु पत्ता नलाग्नु निकै दुख र निरासाको कुरा भएको उल्लेख गरे । प्रहरीले अनुसन्धानका क्रममा विप्लव माओवादीका कार्यकर्ताको हत्यामा संलग्नता रहेको कुरा सार्वजनिक गरेपनि मुख्य अभियुक्तहरु अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । अभियुक्तहरु नेपालगन्ज र काठमाडौंमा खुलेआम घुमेपनि प्रहरीले समाउन नसकेको शाहले वताए । कुनै पनि नागरिकको हत्या हुँदा पिडित परिवारले न्याय नपाउनु लोकतन्त्रप्रतिको ठाडो उपहास भएको नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य राजेन्द्र कार्कीले वताए । उनले जनताको वाँच्न पाउने अधिकार सुरक्षित नहुने व्यवस्था लोकतन्त्र हुन नसक्ने वताए । जुनसुकै आस्था र विचारको भएपनि पिडित नागरिकले न्याय पाउने र पिडकले सजाय पाउने व्यवस्था भए मात्र देशमा कानुनी राज्य भएको अनुुभुति गर्न सकिने केन्द्रिय सदस्य कार्कीले वताए ।
अभियुक्तहरुलाइ पक्राउ गर्नका लागि आफुहरुले केन्द्रिय अनुसन्धान व्युरो र प्रहरी अपराध अनुसन्धान शाखामा समुन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी भावेस रिमालले बताए । अभियुक्तहरु पक्राउ नपरेको हुनाले काम नगरेको जस्तो भएपनि चार जना अभियुक्तहरुको फोटो सवै प्रहरी इकाइहरुमा पठाएर खोज्ने काम तिव्र पारिएको उनले वताए । प्रहरी प्रमुख रिमालले हत्यामा संलग्न भएको अभियोगमा विप्लव माओवादीका कार्यकर्ताहरु शिव भनिने ठगेन्द्रवहादुर सिंह र डिल्ली भनिने डिलवहादुर रानालाई पक्राउ गरिसकेको र पौरख भनिने वलवहादुर मल्ल, इतिहास भनिने प्रेम वली, मोहित सिंह भनिने इन्द्र शाही, अभिसेक भनिने दीर्घवहादुर नेपाली र नाम खुल्न नसकेका सुर्खेत निवासी विप्लवका एक कार्यकर्ताको खोजी कार्य तिव्र पारिएको बताएका छन् ।