नेपाली कांग्रेसका पूर्व सांसद तथा साहित्यकार जबराको निधन

काठमाडौँ, २४ असोज । नेपाली काँग्रेसका पूर्व सांसद तथा साहित्यकार जगदीश शम्शेर जबराको ८८ बर्षको उमेरमा निधन भएको छ ।

सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा जबराको निधन भएको हो । उनको निधनप्रति नेपाली काँग्रेसले आज एक विज्ञप्ति प्रकाशित गरी दुःख व्यक्त गर्नुका गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा पार्टीले उनका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

काठमाडौँको बबरमहलमा जन्मिएका स्व. राणाले गोरखा परिषद्बाट आफ्नो राजनीतिक जीवनयात्रा शुरु गरेका उनले विसं २०१५ को आमनिर्वाचनमा अछामबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएका थिए । गोरखा परिषद्को केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका स्व. राणा २०१७ सालको ‘कु’ पछि गोरखा परिषद्का सबै नेताहरुका साथ नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

विसं २०४६ को ऐतिहासिक जनआन्दोलनपछि विसं २०५० मा उनी नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभाको सदस्य भएका थिए । स्व. राणा साहित्यिक क्षेत्रमा समेत सक्रिय थिए । उनको साहित्यिक कृति ‘नरसिंह अवतार’ चर्चित कृतिका रुपमा रहेको छ । उनी मदन पुरस्कारबाट समेत सम्मानित भएका थिए ।