एजुकेशन इन्टरनेशनलको एसिया प्रशान्त क्षेत्रीय आठौँ सम्मेलन आजबाट शुरु

काठमाडौँ, असोज २४ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका शिक्षासम्बन्धी कार्यसूचीको कार्यान्वयनमा शैक्षिक ट्रेड युनियनकर्मीको भूमिकाबारे छलफल गर्न एजुकेशन इन्टरनेशनल (इआई) को एसिया प्रशान्त क्षेत्रीय आठौँ सम्मेलन मंगलबारबाट शुरु भएको छ ।

नेपालसहित विश्वका करिब ३५ मुलुकका शिक्षक, शिक्षालयका कर्मचारी र राष्ट्रसंघीय निकायका प्रतिनिधि सहभागी सम्मेलनको उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले उद्घाटन गर्दै स्थानीय तहबाट माध्यमिक तहको शिक्षाको व्यवस्थापन शुरु भएको बताए । शिक्षकले शिक्षणका साथै समुदाय स्तरमा रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेले पनि यदाकदा उनीहरुको कमजोर सिकाइ क्षमता तथा राजनीतिमा संलग्नता हुँदा शैक्षिक गुणस्तर खस्केको उनले टिप्पणी गरे ।

सो अवसरमा इआइका महासचिव फ्रेड भान लियुवेनले सम्मेलनले तय गर्ने कार्यसूचीले दिगो विकास लक्ष्यको शैक्षिक विषयलाई कार्यान्वयनमा लान सहयोग पुग्ने बताए । ‘ट्रान्सफर्मिङ एशिया प्यासिफिक : एजुकेसन युनियन ड्राइभिङ एजुकेशन २०३० एजेण्डा’ विषयको सो तीनदिने सम्मेलनका अवसरमा शिक्षामा निजीकरणको असरसम्बन्धी अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरिने इआइका परियोजना निर्देशक एन्जेलो गाभ्रिलेटोसले जानकारी दिएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले नेपालको शैक्षिक उपलब्धि र चुनौतीका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।