कांग्रेस र लोकतान्त्रिक फोरमबीच पार्टी एकिकरणको घोषणा

काठमाडौँ, असोज ३० । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकिकरण भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो भएको एकता सभामा पार्टी एकिकरण भएको घोषणा भएको छ ।

दुवै दलबीच संविधानलाई थप लोकतान्त्रिक बनाउने, आगामी निर्वाचनमा संविधान संशोधनलाई साझा मुद्दा बनाउने, थारु, मधेस तथा राजनीतिक आन्दोलनका क्रममा जेल परेकाहरुलाई रिहा गर्ने ३ बुँदे सहमति भएको छ । देशमा अधिनायकवादको खतरा समेत रहेका अवस्थामा वलियो लोकतान्त्रक शक्ति बनाउने उद्धेश्यका साथ पार्टी एकिकरण गरिएको दस्तावेजमा उल्लेख गरिएको छ ।

एकता सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र प्रजातन्त्रलाई बलियो बनाउन लोकतान्त्रिक शक्तिहरु एक हुनुको विकल्प नरहेको बताए । उनले १० बर्ष पछि आफ्ना सहयात्री विजयकुमरा गच्छदारलाई पुनः पार्टीमा प्रवेश गराउन पाएकोमा अत्यन्तै हर्षित भएको भन्दै उनले अब लोकतान्त्रिक शक्तिलाई कसैले हल्लाउन नसक्ने बताए । प्रजातन्त्र र लोकतन्त्र बचाउन कांग्रेस बाहेकको अन्य विकल्प नरहेको भन्दै उनले त्यसका लागि प्रजातान्त्रिक शक्तिहरु एक हुन आव्हान समेत गरे । यस्तै लोकतान्त्रिक फोरमलाई कांग्रेसमा समाहित गराउँदै गर्दा विजयकुमार गच्छदार भाबुक हुँदै आफुले जन्माएको पार्टीलाई आफुले बर्षौ अघि संघर्ष गरेको पार्टीमा समाहित गराउन पाउँदा अत्यन्त हर्षित हुन पुगेको भन्दै सहमति पत्रमा हस्ताक्षर गर्ने बेला गच्छदार भावुक बने ।

पार्टी प्रवेश कार्यक्रममा भावुक बनेका गच्छदारले नेपाली कांग्रेसका पुर्व सभापति एवंम पुर्व प्रधानमन्त्री स्वः गिरिजाप्रसाद कोईरालालाइ सम्झँदै भावुक बन्न पुगे । उनले आफ्नो नसा नसामा कांग्रेस रहेको बताए । उनले भने, ‘गिरिजाप्रसाद दाजुले रोक्दारोक्दै पनि दश वर्ष अघि यही बालुवाटारबाट म बाहिरिएको थिएँ, दश वर्षअघि जुन ठाउँबाट बाहिरिएको थिएँ, त्यहीँबाट पुनः प्रवेश गर्न पाउँदा खुसी लागेको छ ।’

गच्छदारले राजनीतिमा ध्रुबिकरण बढेको भन्दै लोकतन्त्रलाई थप सुदृढ बनाउन कांग्रेस प्रवेश गरेको जिकिर गरे । आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने गच्छदारको दाबी छ । लोकतन्त्र र प्रजातन्त्रको रक्षार्थ आफुले हिम्मत गरेरै पार्टी एकता गरेको भन्दै गच्छदारले यसलाई अरुले के भन्छ भन्ने आफुलाई कुनै मतलव नरहेको बताए । निर्वाचन संविधान कार्यान्वयनको खुड्किलो भएकाले त्यसलाई सम्पन्न गर्न लोकतन्त्र र प्रजातन्त्र प्रति आस्था राख्ने सबैलाई गोलबन्द हुन आग्रह पनि गरे ।

एकता सभालाई कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सम्बोधन गर्दै समावेशी लोकतन्त्रलाई खलबलिन नदिन र नयाँ नेपाल निर्माण गर्न सबै एक हुन आग्रह गरे ।