काठमाडौँ, असोज ३० । सूचनाको हकले मुलुकमा सुशासन कायम गर्ने भन्दै त्यसको सही प्रयोग गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अनुरोध गरेकी छिन् ।
सूचना सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७४ को अवसरमा सोमबार राष्ट्रिय सूचना आयोगद्वारा काठमाडौँमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पारदर्शीता र सुशासनले लोकतन्त्रलाई सुदृढीकरण गर्ने र राज्य बलियो हुने बताए । लोकतान्त्रिक शासन प्रणालीमा संविधान र कानून बमोजिम सरकारका प्रत्येक काम कारबाहीमा जनता सूचनाको हकदार हुन्छन् भन्ने भावनाका साथ काम गर्नु कर्मचारीको कर्तव्य भएको राष्ट्रपति भण्डारीले बताइन् । राष्ट्रपति भण्डारीले भनिन् आजको युग सूचनाको युग हो, लोकतन्त्रमा जनताकै अभिमतबाटै सरकार बन्दछ, त्यस अर्थमा राज्यका शक्ति र मालिक जनता हुन् ।
नागरिक निगरानी र खबरदारीका लागि सूचनाको हक महत्वपूर्ण हुने उनको भनाइ छ । जनतामा सूचनाको हकसम्बन्धी चेतना अभिवृद्धि गराउने राष्ट्रिय सूचना आयोगबाट भएका प्रयासको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले आयोगले निबन्ध प्रतियोगितामा सूचनाको हकका अभियान्तातर्फ प्रथम हुने राजु श्रेष्ठ, द्वितीय हुने राकेशप्रसाद चौधरी र तृतीय हुने भावना पौडेललाई पुरस्कार प्रदान गरेको छ ।
त्यसैगरी सूचना अधिकारीतर्फ वासुदेव नाथ(प्रथम), स्थानेश्वर सापकोटा (द्वितीय) र सम्झना सुवेदी (तृतीय) लाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमश जनही रु २५ हजार, १५ हजार र १० हजार रहेको छ । आयोगले आयोगका कर्मचारी लक्ष्मी जोशी (उपसचिव) र चन्द्रप्रसाद अधिकारी (कानून अधिकृत) लाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
पुरस्कारको राशि जनही रु ११ हजार १११ रहेको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको विश्वव्यापी प्रचलन अनुसार सूचना आयोगलाई संवैधानिक हैसियत दिनुपर्नेमा जोड दिए । कार्यक्रममा आयुक्तद्वय किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिनाले सूचना आयोगले सूचनाको हकलाई स्थानीयस्तरसम्म प¥याउन लागि परेको बताए ।