‘समान रूपमा टिकट दिनुपर्ने’

काठमाडौँ, कात्तिक १० । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा दलित समुदायलाई प्रत्यक्षतर्फ टिकट उपलब्ध गराउनुपर्ने विभिन्न राजनीतिक दलका नेताले माग राखेका छन् ।

दलित महिला संघ (फेडो)ले आयोजना गरेको ‘आसन्न निर्वाचनमा दलित प्रतिनिधित्व, अवसर र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा विभिन्न दलका दलित नेताले आफूहरूको पनि पार्टीमा योगदान रहेको र प्रत्यक्ष निर्वाचन लड्न योग्य भएको भन्दै आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा प्रत्यक्षतर्फ टिकट दिनुपर्ने कुरामा जोड दिएका छन् ।

संविधान संशोधन, काूनन र निर्वाचन प्रणाली संशोधनका लागि दलित समुदायले संयुक्त रूपमा संघर्ष गर्नुपर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले बताएका छन् । प्रतिनिधि सभा र प्रदेश सभामा दलित समुदायको सहभागिता बढाउनका लागि पार्टीभित्र सक्दो पहल भइरहेको नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य तिलक परियारले बताए ।

पैसा र पार्टीको शीर्ष नेतासम्म पहँुच हुनेले मात्र निर्वाचनको लागि टिकट पाउने संस्कारको अन्त्य गरिनुपर्ने कुरामा नेकपा (एमाल)का नेता जीतु गौतमले जोड दिएका छन् ।

नयाँ शक्ति नेपालका सह–संयोजक दुर्गा सोव, निवर्तमान सांसद टेकु नेपाली, दलित अधिकारकर्मी भक्त विश्वकर्मा, चक्र विश्वकर्मा र (फेडो) का अध्यक्ष कला स्वर्णकारले थप अधिकार प्राप्तिका लागि संयुक्त दलित आन्दोलनको आवश्यकता औँल्याएका छन् ।