बर्दिवास, कात्तिक १२ । महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा डेंगुको रोगी बढ्दै जान थालेपछि त्यस क्षेत्रका मान्छेमा त्रास फैलिएको छ । गत असोजको तेस्रो साता पाँच जनामा डेंगु देखिए पछि त्यस यता दिनहुँ डेंगुका रोगी बढ्दै गएका छन् ।
बर्दिबासका शुभ स्वस्तिक हस्पिटल, जनसेवा हस्पिटल र बर्दिवास अस्पतालमा अहिले डेंगु संक्रमित उपचार लिन र डेंगुको शंका भएकाहरु रगत जाँच गराउन आउनेहरुको भीड लाग्न थालेको छ । अहिलेसम्म बर्दिबास क्षेत्रका ३८०, महोत्तरीकै गौशाला नगर क्षेत्रका दुई र बर्दिबासमा विभिन्न काम प्रयोजनले आएका धनुषा र सर्लाहीका १८ जनासहित ४०० जना डेंगु प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
दिनप्रतिदिन डेंगुका रोगी बढ्दै गए पनि विषादि छरेर प्रकोप फैलाउने लामखुट्टे नियन्त्रण गर्न स्वास्थ्य संस्था र बर्दिवास नगरपालिकाले चासो नदिएको सर्वसाधारणको गुनासो छ । चिकित्सक र स्वास्थ्यकर्मीले भने डेंगु फैलाउने एडिस जातको लामखुट्टे विषादि छरेर भन्दा यसले फुल पार्ने ठाउँको खोजी गरी नष्ट गर्ने अभियान नै प्रभावकारी हुने बताउँदै आएका छन् । घर वरपर सरसफाइ र पानी जम्न नदिएमा लामखुट्टेले फुल पार्ने ठाउँ नपाएपछि डेंगु नियन्त्रण हुने बर्दिवास अस्पतालका मेडिकल अधिकृत डा. किशोर अधिकारीले बताएका छन् । विषादिले वयष्क लामखुट्टे मरे पनि उसका फुल, लार्भा र पिपा नियन्त्रण गर्न ‘सर्च एण्ड डिष्ट्रोय’ (खोजी र नष्ट) अभियानलाई निरन्तरता दिनुपर्ने डा. अधिकारीको भनाई छ । पछिल्लो तीन दिनयता बर्दिवास अस्पताल, बर्दिवास नगरपालिका, इलाका प्रहरी कार्यालय बर्दिबास र सामाजिक संघसंस्थाले संयुक्त रुपमा ‘सर्च एण्ड डिष्ट्रोय’ अभियान सञ्चालन गरेका छन् ।
अभियानमा सडक पेटीमा थुपारेर राखिएका टायरमा लामखुट्टेका असंख्य लार्भा फेला परेको डा. अधिकारीले जानकारी दिए । लार्भा नष्ट गरिएपछि वयष्क लामखुट्टेको आयु एक महिनाभन्दा बढी नहुने भएकाले डेंगु नियन्त्रण हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसरी दिनप्रतिदिन डेँगुको प्रकोप फैलिदै जान थाले पछि त्यहामा जनतामा त्रास बढ्दै गइरहेको छ । त्यसको नियन्त्रणका लागि सम्बन्धित निकायबाट कुनै पनि खालको पहन हुन नसकेको उनीहरुको गुनासो छ ।