रगत अभाब

चितवन, कात्तिक १२ । चाडपर्वहरु भित्रिएपछि रक्तदान कार्यक्रम हुन छाड्दा रगतको अभाव देखिन थालेको छ ।

दशैं, तिहार र छठ पर्वका कारण रक्तदान कार्यक्रमको आयोजना नहुँदा रगतको अभाव हुन थालेको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले बताए । उनले आउँदो सातासम्ममा रगत सहज बन्ने बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा र स्वयम्सेवी संस्थाले रक्तदान कार्यक्रम गर्न थालेकाले क्रमशः सहज बन्दै जाने उनको भनाई छ । गत आर्थिक वर्षमा ३५ हजार युनिट रगत जिल्लामा खपत भएको र दैनिक एक सयदेखि १५० युनिट रगत जिल्लामा माग हुने गरेको उनले बताए ।

हाल रगत आवश्यक परेका बिरामीका आफन्तहरु मिल्दो समूहको व्यक्ति खोजेर केन्द्रमानै गएर रगत दिने गरेका छन् । यसका लागि जिल्लामा गठित युथ फर ब्लड नामक युवाको संस्थाले सहयोग गर्दै आएको छ ।

जिल्लामा माग हुने रगतमध्ये सबैभन्दा बढि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका बिरामीलाई जाने गरेको छ ।