जेजस्तो गरी नाम सिफारिश भए पनि अन्तमा सही व्यक्तिले टिकट पाउने — महेश बस्नेत

लोकसत्ता सम्बाददाता । नेकपा एमालेका नेता तथा कार्यकर्ताले  टिकट वितरणमा पार्टीले सही व्यक्तिको छनोट गर्नुपर्नेमा जोड दिएका छन् । विशेषगरी एमालेको भक्तपुर क्षेत्र नं १ र २ को प्रतिनिधिसभा र चारवटै प्रदेशमा सर्वसम्मतरूपमा उम्मेदवारको सिफारिश गरे पनि प्रदेश नं २ मा भने प्रदेशसभातर्फ भएको उम्मेदवार सिफारिशको विवादले एमालेमा भाडभैलो भएको छ ।

गाउँ, नगर र क्षेत्रले सर्वसम्मतरूपमा पार्टीका पुराना नेता शशीजंग थापाको नाम सिफारिश गरेको र जिल्ला कमिटी बैठकमा समेत बहुमतले थापाको नाम सिफारिश गरे पनि पार्टी अध्यक्ष राजेन्द्र राजथलाले थापाको नाम काटेर नियम विपरित आफ्नो मात्रै नाम पठाएपछि भएको विवादले एमालेभित्र भाडभैलो भएको हो । पार्टी बैठकमा थापा र राजथला दुवैको नाम सिफारिश गरे पनि अध्यक्षले नियम विपरीत नाम काटेपछि थापाले न्यायको माग गर्दै प्रदेश कमिटी र केन्द्रीय तहसम्म निवेदन दिएका छन् ।

थापा र राजथलामध्ये कसलाई टिकट दिने भन्ने बारेमा पार्टी अध्यक्ष ओलीसमेत अलमलमा परेको र सही व्यक्तिलाई टिकट नदिए अध्यक्षकै क्षेत्रमा चुनाव जित्न निकै संकट भोग्नुपर्ने भन्दै एमाले नेता तथा कार्यकर्ताले योगदान एवं अवसरबाट वञ्चित भएका र जनताले रुचाएका व्यक्तिलाई टिकट दिनुपर्ने माग राखेका छन् । यदि यसरी नियम विपरित आफ्नो मात्र नाम सिफारिस गरि पठाउने ब्यक्तिलाई पार्टीले टिकट दिएमा २ नं क्षेत्रको प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेतले जित्नेमा समेत नकारात्मक प्रभाव पर्न सक्ने सम्भावना देखिएको छ । शशिजंग थापा पूर्व गाविस अध्यक्ष हुनुका साथै राजनितिमा आफ्नो करियर समर्पित गरेका योग्य युवा स्थानीय लोकप्रिय नेता मानिन्छन् । थापाले टिकट पाएमा भक्तपुर २ मा एमालेले प्रतिनिधि सभा र प्रदेश सभामा भारी मतले बिजय हुने निस्चित छ ।

सूर्यविनायकमा हालै भएको पत्रकारसम्मेलनमा युवानेता महेश बस्नेतले जेजस्तो गरी नाम सिफारिश भए पनि अन्तमा सही व्यक्तिले टिकट पाउने प्रतिक्रिया दिए । स्थानीय कार्यकर्ताहरु पार्टिको केन्द्रिय तह बाट समयमै सही निर्णय गरि पार्टि प्रतिको त्याग र योगदानको कदर हुनेमा निस्चिन्त छन् ।