बाँके, कात्तिक १४ । केन्द्र र प्रदेशको निर्वाचन हुन महिना दिन मात्रै बाँकी रहँदा सरकारले बाढी पिडितलाई बितरण गरेको रकममा वडा कार्यालयले राजनिति गरे पछि पिडितहरुले अबरोध गरेका छन् ।
बाँकेको डुडुवा गाँउपालिका वडा नं. ३ बनकट्टीका वडा अध्यक्ष भण्डारी लाल यादवले बाढी पिडितहरुको नामावली तयार गर्दा गैर पिडितहरुको नामावली तयार गरी पठाएको सोही बमोजिम राहत वितरण गर्ने प्रयास गरे पछि पिडितहरुले पुन छानबिन गरी वास्तविक पिडितहरुलाई राहत वितरण गर्न माग गरे पछि गाँउपालिकाले प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरेर मात्र राहात बितरण गर्ने उर्दी जारी गरेको छ ।
बाढीले घरबार बगाएका र खाने अन्नपात समेत नरहेका पीडितहरु सरकारी राहतको पर्खाइमा रहेका बेला वडा अध्यक्ष यादवले एमाले, काग्रेस र माओबादीलाई भोट दिने पिडितहरुलाई आफू राहत दिन नसक्ने बताए पछि पिडितहरुले गाँउपालिकाको कार्यालयमा धर्ना दिएका थिए । वडा अध्यक्ष भण्डारी लाल यादवले, राहात वितरण गर्न खोज्दा केही ठूला पार्टीका कार्यकर्ताहरुले अबरोध गरे पछि आक्रोशमा मैले ठूलो पार्टीहरुको नाम लिएको बताउँदै नामावली तयार गर्दा केही त्रुटी भएकोले सच्याउने प्रयास भई रहेको बताएका छन् । यता डुडुवा गाँउपालिका प्रमुख नरेन्द्र चौधरीले राहत बितरणमा कुनै प्रकारको राजनिति नहुने बताउँदै वास्तविक पिडितहरुलाई राहत दिन गाँउपालिका लागी परेको बताएका छन् ।
उनले बनकट्टीमा मात्र राहत वितरणमा समस्या देखा परेकोले उक्त समस्या समाधानका लागि आफू लागी परेको जिकिर गरे । प्रमुख चौधरीले वडा अध्यक्षहरुलाई जनताको हितमा काम गर्दा राजनिति भन्दा माथि उढेर काम गर्न निर्देशन समेत दिएका छन् । यस्तै बाढी नलागेको डुडुवागाँउपालिका वडा नं. ६ हिरमिनियामा समेत बाढी पिडितहरुका नाममा राहत वितरण गरिएको छ ।
बाढी नै नलाग्ने ठाँउमा राहत बितरण गर्नु भनेको नजिकिँदै गरेको चुनावका लागि भोटर खरिद गर्ने कार्य भएको स्थानीय युवा नेता इरफान शेखले आरोप लगाएका छन् । उनले तत्काल छानबिन गरी राज्यको सम्पत्ति दुरुपयोग गर्ने माथि कारवाही गर्न सम्बन्धीत निकायसंग माग राखेका छन् ।