उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिह्न पनि वितरण हुने

काठमाडौँ, कात्तिक १९ । मंसिर २१ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली निर्वाचन आयोगले आज प्रकाशन गर्दैछ ।

निर्वाचनको निर्धारित कार्यतालिका अनुसार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिह्न पनि वितरण हुने भएको छ । १६ गते दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा आयोगले उम्मेदवारी दर्ता गराएको थियो । आयोगका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नु अघि उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई आयोगले बिहान १० बजेदेखि १ बजेसम्मको समय दिइएको छ ।

उम्मेदवारको विरोधमा उजुरी दिन १७ गतेको समय दिएको आयोगले शनिबार मनोनपयपत्र र उजुरीउपर छानबिन गरिसकेको छ । निर्वाचन आयोगका अनुसार, तनहुँ–२ मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशी उम्मेदवारका लागि अयोग्य देखिएपछि उम्मेदवारी खारेज भएको छ । जोशी सर्वोच्च अदालतबाट भ्रष्टाचार आरोपमा दोषी प्रमाणित भएका व्यक्ति हुन् ।

आगामी मंसिर २१ गते १२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हुने निर्वाचनमा १ हजार ७४२ उम्मेद्वारी परेकोमा एक जनाको खारेजी भएको छ भने प्रदेशसभातर्फको २५६ निर्वाचन क्षेत्रका लागि २ हजार ९६६ जना उम्मेदवार प्रतिस्पर्धाका लागि चुनावी मैदानमा होमिएका छन् ।