पर्वत, कात्तिक १९ । करिब दुई दशक अघिदेखि बन्द हुँदै आएकाके पर्वत फलेवासको मिसन अस्पताल सञ्चालन गर्नका लागि स्थानीयवासीले माग गरेका छन् ।
विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ हुवासमा रहेको सो अस्पताल अहिलेसम्म पनि सञ्चालनमा हुन सकेको छैन । असुरक्षाका कारण सशस्त्र द्वन्द्वका क्रममा बन्द भएको अस्पताल सञ्चालनमा नआउँदा त्यहाँका सर्वसाधारणले सास्ती बेहोर्दै आइरहेका छन् । विसं २०५० मा स्थापित १५ श्यैयाको उक्त अस्पताल सञ्चालन गर्न बेवास्ता गरेको गाउँलेले बताए ।
उक्त अस्पताल २०५८ सालदेखि बन्द भएको हो । स्थापना भएको सात वर्षसम्म सञ्चालनमा आएको अस्पतालमा दुई अमेरिकी र चार नेपाली चिकित्सक कार्यरत थिए । अस्पतालबाट पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका दुई दर्जन बढी गाविसका एक लाख ५० हजार सर्वसाधारण लाभान्वित भएका थिए । व्यक्तिको १५ रोपनी जग्गामा ‘एड भान्टिस्ट फन्ट मिसर’ नामक अमेरिकी संस्थाले रु एक करोडको लागतमा निर्माण गरेको उक्त अस्पतालको भवन र फर्निचर अहिले बेवारिसे अवस्थामा छन् । अस्पताल भवन र आवास गृहमा लगाइएको टायल फुटेपछि चुहिन थालेको छ । समयमै मर्मत नगरे भवन भत्कने निश्चित भएको उक्त अस्पतालका पूर्व रजिष्ट्रार गंगा न्यौपानेको भनाई छ ।
द्वन्द्वकालमा माओवादीको डरका कारण अमेरिकन सरकारले आफ्ना सबै चिकित्सकलाई फिर्ता बोलाएको जानकारी दिँदै उनले अमेरिकन चिकित्सक फिर्ता गएपछि अस्पताल नै बन्द भएको बताए । अस्पताल सञ्चालनमा सरकारले बेवास्ता गरेपछि आफूहरु समस्यामा परेको स्थानीय समाजसेवी लालबहादुर प्रधानले दुखेसो पोखे । पाल्पाको मिसन अस्पतालको अवधारणा अनुसार निर्मित उक्त अस्पताल बन्द भएपछि सर्वसाधारण उपचारका लागि कास्की, स्याङ्जा, रुपन्देही, पाल्पा जान बाध्य भएका छन् ।
हुवास बजार जिल्लाको प्रमुख व्यापारिक नाका भए पनि उक्त स्थानमा सुविधासम्पन्न स्वास्थ्यचौकी स्थापना हुन सकेका छैनन् । यहाँ उपस्वास्थ्य चौकी मात्र छ, अस्पताल सञ्चालन गर्न सबैसँग आग्रह गर्यो तर यस विषयमा कसैले पनि चासो दिएनन् स्थानीयवासी मित्रलाल बस्यालले भने । अस्पातललाई सरकारले सञ्चालनमा ल्याउन सके आफूहरुले महँंगो रकम तिरेर उपचार गर्न अन्य ठाउँमा धाई धाई जानुपर्ने समस्या हटेर जाने बस्यालले बताए ।
पछिल्लो समय हुवासमै इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा तथा सडक सुविधाको राम्रो पहुँच पुगेकाले सुविधा सम्पन्न अस्पतालको मात्रै कमी रहेको स्थानीय वासीहरुको गुनासो छ ।