स्थानीयतहमा बैंक नहुँदा स्थानीय समस्यामा

नुवाकोट, कात्तिक १९ । नुवाकोटजिल्लाका १२ स्थानीयतहमध्ये पाँच स्थानीयतहमा बैंक तथा वित्तीय संस्था नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ ।

जिल्लामा कायम रहेका १२ मध्ये किस्पाङ, तार्केश्वर, शिवपुरी, सूर्यगढी र पञ्चकन्या लगायतका ५ स्थानीय तहमा बैंक स्थापना नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीयतहका कर्मचारी र जनप्रतिनिधि मारमा परेका छन् । सरकारले सबै स्थानीयतहमा एउटा वाणिज्य बैंक स्थापना गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यसको कार्यान्वयन हुन नसक्दा आर्थिक तथा वित्तीय कारोबार गर्नको लागि जिल्लाको सदरमुकाम तथा अन्य स्थानीय तहमा धाउनुपर्ने समस्या रहेको छ ।

बैंकको काम लिएर जिल्लाका पाँच गाँउपालिकाको स्थानीयवासी चार घण्टासम्मको बाटो हिँडेर सदरमुकाम विदुर धाउन बाध्य भएका छन् । जिल्लामा रहेका निजी क्षेत्रका अधिकांश बैंकले सस्तो ब्याजदरमा निक्षेप संकलन गरी महङ्गो ब्याजदरमा कर्जा प्रवाह गरी सेवा प्रवाह भन्दा पनि नाफामुखी कार्य गरेका छन् ।