लोकतान्त्रिक गठबन्धनले जित्नैपर्ने बुद्धिजीवीको ठहर

भद्रपुर, कात्तिक २० । पछिल्लो समय लोकतन्त्र संकटमा रहेको निष्कर्ष निकाल्दै आइतबार बुद्धिजीवीहरुको एक भेलाले आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई तन मन धन सबै लगाएर विजयी गराउन सम्पूर्ण देशवासीलाई अनुरोध गरिएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अभियानमा निरंकुशता हावी हुने गरी गठबन्धन हुँदा लोकतन्त्र संकटमा पर्ने ठहरसहित नेपाली काँग्रेसको पक्षमा मतदान गर्न आम नागरिकलाई अपिल गरिएको हो । डेमोक्रेटिक लयर एसोसिएसन झापाको समन्वयमा चन्द्रगढीमा सम्पन्न प्राध्यापक, वकिल, निजामती कर्मचारी, पत्रकार, शिक्षक लगायतका पेशागत प्रतिनिधिले नेपाली काँग्रेस पराजित भए लोकतन्त्र संकटमा पर्ने ठहर गरेका छन् । बुद्धिजीवी पेशाकर्मीको संयुक्त भेलाले जनताको सार्वभौम अधिकार अमुक शक्ति निर्माणमा दुरुपयोग भए जनताले नै दुःख पाउने हुँदा सबै सचेत हुन अनुरोधसमेत गरेको छ ।

काँग्रेसको घरदैलो तीव्र

यसैगरी नेपाली काँग्रेस झापा निर्वाचन क्षेत्र नं ३ ले आसन्न निर्वाचनका लागि घरदैलो अभियानलाई तीव्रता दिएको छ । भद्रपुर, हल्दीबारी र बाह्रदशी गाउँपालिकाका विभिन्न वडाबाट मतदाता भेटघाट तथा चुनाव परिचालन समिति गठन अभियान शुरु भएको छ । प्रदेशसभाअन्तर्गत क्षेत्र नं ३ को (क) ले भद्रपुर–५ बाट मतदाता भेटघाट अभियान थालेको छ भने क्षेत्र नं ३ को (ख) ले साविक राजगढबाट अभियान थालेको हो ।

(क) का प्रत्यासी भूमिप्रसाद राजवंशीले शहर र गाउँबीचको दूरी कम गर्दै समावेशी विकासका लागि मतदान गर्न मतदातासँग अनुरोध गरेका छन् । त्यस्तै (ख) का प्रत्यासी भगिरथ पोद्धारले जातीय उत्पीडन र वर्गीय असमानताको अन्त्य गर्दै लोकतन्त्रान्त्रिक राज्य व्यवस्था जनताको अनुभूतिमा ल्याउनका लागि मतदातासँग मतदानका लागि अनुरोध गर्दै नेपाली कांग्रेसलाई बहुमतले विजयी गराउन सबैलाई आग्रह गरेका छन् ।