भक्तपुर, कात्तिक २० । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तीनवटा दलको चुनावी भिडन्त हुने भएको छ ।
भक्तपुरमा ११ वटा दल चुनावी मैदानमा उत्रिए पनि मुख्यतया नेपाली काँग्रेस, वाम गठबन्धन र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारबीच दुईवटा प्रतिनिधि सभा सदस्य र चारवटा प्रदेश सभा सदस्यका लागि कडा प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नं १ प्रतिनिधि सभातर्फ नेपाल मजदुर किसान पार्टीको राम्रो पकड रहेको मानिन्छ । बाम गठबन्धन बीचको तित्तताले अझ नेमकिपा र कांग्रेसबीचको चुनावी भिडन्त रोचक हुने भएको छ । उक्त स्थानमा नेमकिपाका उम्मेदवारलाई पराजित गर्न कडा मेहनत गर्नुपर्ने देखिन्छ ।
विगतमा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले चुनाव लड्दै आएको यस क्षेत्रमा यस पटक प्रेम सुवाल उम्मेदवार बनेका छन् । यस पटक काँग्रेसले बाबुराजा जोशी र वाम गठबन्धनले मिलन सुवाललाई उम्मेदवार बनाएको छ । कांग्रेसका बाबुराजा जोशीलाई हराउन नेमकिपाका उम्मेदवारदय प्रेम सुवाललाई निकै कठिन देखिन्छ । प्रदेश सभातर्फ क्षेत्र नं १ ‘क’ मा नेमकिपालाई आफ्नो साख जोगाउन त्यति सहज छैन । यस क्षेत्रमा नेमकिपाका नीरज लवजू, वाम गठबन्धनका हरिशरण लामिछाने र नेपाली काँग्रेसका जीवन खत्रीबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
क्षेत्र नं २ ‘ख’ भक्तपुर नगरक्षेत्रमा नेमकिपाका सुरेन्द्रराज गोसाईं, काँग्रेसका अनिल भुजु र वाम गठबन्धनबाट रोमन शिलाकार उम्मेदवार बनेका छन् । क्षेत्र नं २ मा प्रतिनिधि सभातर्फ काँग्रेसका नेता एवं पूर्वसभामुख दमननाथ ढुंगानासँग एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेत र नेमकिपाकी अनुराधा थापामगरबीच दह्रो प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नं २ ‘क’ सूर्यविनायकमा एमालेका शशीजंग थापा, काँगेसका अंगद खड्का र नेमकिपाका सरोजराज गोसाईं चुनावी मैदानमा छन् ।
यस स्थानमा पनि तीन जनाबीच निकै कडा प्रतिस्पर्धा हुने देखिन्छ । एमालेका नेता तथा कार्यकर्ता रुष्ट भई माओवादीबाट अघि सारिएका उम्मेदवारलाई असहयोग गर्ने सम्भावना बढ्दै गर्दा कांग्रेसलाई भक्तपुरमा जित्नका लागि अझ सहज भएको अनुमान राजनीतिक विशेषज्ञहरु बताउँछन् ।