विद्यार्थीलाई सोलार बत्ती वितरण

माया पन्त

जाजरकोट, कात्तिक २३ । दुर्गमका विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा टेवा पुर्याउने उद्देश्यले सोलार बत्ती उपलब्ध गराइएको छ । शिक्षाको लागि उज्यालो कार्यक्रम अन्तर्गत जाजरकोटका ४१ माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययन गर्ने गरीब तथा जेहेन्दार विद्यार्थीलाई सोलार बत्ती उपलब्ध गरीएको हो ।

सूर्य रोसनी इन्डष्ट्रिस्ल प्रा.ली काठमाडौंले जिल्ला शिक्षा कार्यालय जाजरकोट मार्फत यहाँका माध्यमिक विद्यालयका २ हजार ५ सय ३२ जना विद्यार्थीलाई प्रति विद्यार्थी १० वाटको सोलार बत्ती वितरण गरेको छ । उक्त प्रालीले दश करोड ६४ लाख मूल्यको सोलार उपलब्ध गराएको जाजरकोटका निमित्त जिल्ला शिक्षा अधिकारी मानबहादुर गिरीले बताएका छन् ।

पहिलो चरणमा जिल्लाका ६४ माध्यमिक विद्यालयमध्ये ४१ विद्यालयमा उपलब्ध गराएको र दोस्रो चरणमा बाँकी रहेका विद्यालयका विद्यार्थीलाई वितरण गरीने गिरीको भनाइ छ । प्रालीका प्रतिनिधी सन्दिप आचार्यले एक वर्ष अघि यहाँका विद्यालयहरुमा ९ र १० कक्षामा अध्ययन गर्ने निम्न आयस्रोत भएका विद्यार्थीको आवेदन माग गरीएको बताए ।

अँध्यारोका कारण पठनपाठनमा समस्या भोग्दै आएका विद्यार्थीहरुको लागि टेवा पुग्ने उनको भनाई । सबै भन्दा बढी सोलार बत्ती पाउनेमा कुशे गाउँपालिका स्थित मान्यढुङ्गा माध्यमिक विद्यालय टालेगाँउका २ सय ६५ जना विद्यार्थी रहेको आचार्यले बताएका छन् ।