उम्मेदवारी मनोनयनसँगै चुनावी चहलपहल तीव्र

– साहिला ताामाङ

ललितपुर, २३ कात्तिक । आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधिसभा र प्रादेशिकसभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयनसँगै गाउँघरमा चुनावी चहलपहल ह्वातै बढेको छ । दैनिकी दिनचर्या बाहेक अन्य गतिविधि शुन्य हुने गाउँघरमा चुनावी माहोलको सरगमी बढ्दै गएको छ ।

आफ्नो पक्षमा जित हासिल पार्नका लागि पार्टीका नेताहरु अहिले घर–घरमा भोट माग्न पुगिरहेको दृश्य सजिलै देख्न पाईन्छ । विस २०७० सालमा सम्पन्न संविधानसभाको निर्वाचनपछि हुन लागेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा भाग लिन जनताहरु जति आतुर देखिन्छन त्यति नै नेताहरु आफ्नो बहसमा मत पार्न हदैसम्म कसरत गरिरहेका छन् । नयाँ संरचना अनुसार हुन लागेको निर्वाचनले पनि जनतामा उत्साह छाएको प्रष्टै देखिन्छन् । नेपाली काँग्रेसका जिल्ला सभापति एवम् निवर्तमान सांसद मदनवहादुर अमात्य अहोरात्र निर्वाचनमा खटिरहेको दृश्य जहाँतहीँ देख्न सकिन्छ । दोस्रो सविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर ३ बाट अमात्य भारी मतका साथ विजयी भएका थिए । जसरी वि.सं. २०७० को निर्वाचनमा ललितपुर काँग्रेसको किल्ला भयो त्यसरी नै मंसिरमा हुने निर्वाचनले उक्त किल्ला कायम राख्न सक्ने सभापति अमात्यको भनाई रहेको छ ।

मंसिरमा हुने दोस्रो चरणको निर्वाचनमा सो क्षेत्रवाट प्रतिनिधिसभाको उम्मेदवारी समेत रहेका अमात्यले जनताको विश्वास अझै काँग्रेसमाथि रहेको बताएका छन् । लोकतन्त्रको स्थायित्व स्थापित गर्न काँग्रेसको विजय आवश्यक रहेको उनको धारणा छ । जनताले आफ्नो आवाजलाई बुलन्द रुपले सार्वजनिक ठाउँमा राख्न र हकअधिकारलाई सुनिश्चित पार्न लोकतन्त्रमा मात्र सम्भव हुन सक्ने अमात्यको तर्क छ । जनताले लोकतन्त्र स्थापनाका लागि मत खसाल्नेमा उनी विश्वस्त छन् । विस २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा प्राप्त मतलाई कायम राख्न सके मात्र काँग्रेसको विजयी सुनिश्चित रहेको दावी गरे । मंसिरमा हुने निर्वाचनमा बामगठबन्धनले कुनै पनि प्रकारको असर पार्न नसक्ने अमात्यको भनाई रहेको थियो । ललितपुरमा रहेको तीनवटै क्षेत्र र छ वटा प्रदेशमा काँग्रेसको विजय सुनिश्चित पार्न पार्टी कटिवद्ध रहेको सभापति अमात्यले बताएका छन् ।

क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको उम्मेदवार रहेका काँग्रेसका निवर्तमान सांसद चन्द्र महर्जनले मंसिरमा हुने निर्वाचन स्वच्छ रुपले हुने बताए । जनताहरु मत खसाल्न आतुर रहेकाले आफू पनि मत माग्न गाउँघर पुगिसकेको उनले सुनाए । यस क्षेत्रवाट दोस्रो संविधानसभाको निर्वाचनमा उम्मेदवार भएर विजय प्राप्त गर्न सफल महर्जन यस पटक पनि सजिलै चुनाव जित्नेमा ढुक्क छन् । बामगठबन्धन र लोकतान्त्रिक गठबन्धमध्ये जनताले लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनेमा आफू विश्वस्त रहेको महर्जनको भनाई रहेको छ । लोकतन्त्र रक्षाका लागि जनताले काँग्रेसको पक्षमा मत खसाल्नुको विकल्प नभएको उनले जिकिर गरे । उनले राणा शासन र राजालाई फ्याँकेर देशमा प्रजातन्त्र स्थापना गर्न काँग्रेसले नेतृत्व गरेको अवस्थामा आज पनि लोकतन्त्र स्थापितका लागि लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको दावी गरेका छन् ।

अर्थराज्य मन्त्री एवम् निवर्तमान सांसद समेत रहेका उदयशम्शेर राणाले देशको हरेक अप्ठ्यारा परिस्थितिमा काँग्रेसकै पहलमा समाधान भइरहेको उल्लेख गर्दै नयाँ संरचना अनुसार हुन लागेको निर्वाचनले देशको समृद्धि हुने बताएका छन् ।आर्थिक क्रान्ति र देशको विकासका लागि आगामी मंसिरमा हुन लागेको केन्द्र र प्रदेशको चुनावमा काँग्रेसको पक्षमा जनलहर आएकाले कांग्रेसको विकल्प नभएको उनले बताए । ‘संविधान निर्माण काँग्रेसकै नेतृत्वमा भएको हो, अव त्यसको कार्यान्वयनका लागि मंसिरमा हुने चुनावले साकार पार्नेछ’–उनले भने । राणाले उक्त निर्वाचन सम्पन्नपछि देशले आर्थिक विकासमा छलाङ मार्ने दावी गरे । दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेसवाट उम्मेदवारी भएर निर्वाचित भएका राणा यस पटक पनि सो क्षेत्रवाट प्रतिनिधिसभाको उम्मेदवार भएका छन् । आफ्नो कार्यकालमा काठमाडौंवाट हेटौडासम्म जोडने कान्तिलोकपथ सडकको निर्माण कार्यको तीव्रता भएको उनले बताए । विकासको आधारमा जनताले आफूलाई चुनेर पठाउनेमा ढुक्क रहेको राणाको भनाई रहेको छ ।

काँग्रेसवाट क्षेत्र नम्बर १(क) मा ऋषिराम घिमिरे, १(ख) मा मीनकृष्ण महर्जन, २(क) मा पवन विक्रम थापा, २(ख) मा प्रेमकृष्ण महर्जन, ३(क) मा नवराज महत र ३(ख) मा शिवराम बानियाँ उम्मेदवार रहेका छन् । समग्र ललितपुर जिल्ला कांग्रेसको किल्ला बनाउन सबै उम्मेदवारहरु प्रयासरत देखिन्छन् ।