पूर्व राष्ट्रपति यादव विभूषित

काठमाडौँ, कात्तिक २४ । पूर्व राष्ट्रपति डा रामवरण यादवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘जनआन्दोलन स्वर्ण पदक, २०७४’ बाट विभूषित गरेकी छिन् ।

सर्वमान्य नेता स्व गणेशमान सिंहको १०३औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वरा आयोजित समारोहमा पूर्व राष्ट्रपति यादवलाई अभिनन्दन सहित उक्त पदकबाट विभूषित गरिएको हो । शान्ति प्रक्रियाका विभिन्न चरणमा पुर्याएको योगदान र राष्ट्रपतिको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न निभाएको भूमिकाका लागि डा यादवलाई अभिनन्दन गरिएको हो ।

उक्त समारोहमा राष्ट्रपति भण्डारीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साह देखिए झैँ आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई पनि एउटा ऐतिहासिक उत्सवको रूपमा लिएर सहभागी हुन आमजनतासँग आग्रह गरेकी छिन् ।संविधानले निर्दिष्ट गरेका विभिन्न तहका निर्वाचन समयमै सम्पन्न गर्न राजनीतिक दलहरूबाट देखाइएको कटिबद्धताको सराहना गर्दै राष्ट्रपति भण्डारीले स्वस्थ प्रतिस्पर्धाका लागि दलहरुमा देखिएको अग्रसरताप्रति खुशी व्यक्त गरिन् । उनले सबै निर्वाचनले राजनीतिक स्थायित्व र परिपक्वता कायम गरी हालसम्म प्राप्त उपलब्धिलाई सुदृढ गर्ने र मुलुकलाई सामाजिक र आर्थिक रूपान्तरणको बाटोमा अघि बढ्न मार्ग निर्देश गर्ने विश्वास पनि व्यक्त गरिन् ।

युवा अवस्थादेखि नै एक निर्भिक र निडर व्यक्तित्वको पहिचान बनाएका स्व गणेशमान सिंह नेपाली जनताको स्मृतिमा लौहपुरुष एवं त्यागका प्रतिमूर्तिका रूपमा परिचित भएको उल्लेख गर्दै उनले नेपालमा राजनीतिक परिवर्तनका निमित्त लोकतन्त्रवादीहरूबीच सहकार्य गर्नका लागि नेता गणेशमान सिंहले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको स्मरण गरिन् । गणेशमानको जन्मजयन्ती मनाइरहेको अवसरमा संविधानले निर्देश गरे बमोजिमका सबै तहका निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न लाग्नु गणेशमानप्रति वास्तविक सम्मान गर्नु हो भन्ने मैले सहसुस गरेको छु– उनले भनिन् ।

पूर्व राष्ट्रपति डा यादवले सबैले स्वीकार गरेको नेपालको संघीय लोकतान्त्रिक संविधानको पूर्ण कार्यान्वयनसँगै मुलुकलाई समृद्धिको बाटोमा अगाडि लैजानुपर्ने कुरामा जोड दिए । रक्षा मन्त्री तथा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानका अध्यक्ष भीमसेनदान प्रधानले लोकतन्त्रलाई संस्थागत गर्नु नै शहीदको सच्चा सम्मान हुने बताए ।