पाँचथर, कात्तिक २६ । कम्युनिष्टहरु धर्म र संस्कृति बिरोधी भएकोले उनीहरुले भनेको जस्तो शासन आए नेपालको धार्मिक स्वतन्त्रता समाप्त हुने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
पाँचथरको लब्रेकुटीमा नेपालका १६ औं विभूति तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङदेनको १ सय ३३ औं जन्म जयन्तिका अवसरमा आयोजित आमसभामा बोल्दै प्र.म. देउवाले उक्त कुरा स्पष्ट पारेका हुन् । कम्युनिष्ट नेताहरुले भने जस्तो शासन आएमा हालसम्मका आन्दोलन र क्रान्तिहरुका माध्यमबाट प्राप्त सबै नागरिक हक अधिकार समेत गुम्ने प्रधानमन्त्री देउवाले बताए । उनले माओवादी केन्द्र र एमालेबीच भएको बाम गठबन्धनको माध्यमबाट कम्युनिष्ट एकता गरी कम्युनिष्ट शासन ल्याउन खोजिएको आरोप लगाए ।
उनले धर्म, संस्कृति र परम्परा सहित नागरिकका मौलिक स्वतन्त्रताहरुको रक्षाको लागि आसन्न निर्वाचनमा लोकतन्त्र पक्षधरहरुलाई मतदान गर्न अनुरोध गरे । उनले सबै जातजाति, भाषा—भाषी, धर्म—संस्कृतिको जगेर्ना र लोकतन्त्रको रक्षा गर्ने एउटा मात्र पार्टी नेपाली काँग्रेस मात्र रहेको बताउँदै कांग्रेसको विजय भएमा लोकतन्त्रको रक्षा गरेका फाल्गुनन्दको तपोभूमिमा किराँत साँस्कृतिक अध्ययन केन्द्र तथा विश्वविद्यालय खोल्ने बताए ।
लोकतन्त्रमा मात्र जनता मालिक हुने बताउँदै बोल्न, लेख्न पाउने र डरत्रास विनाको शासन व्यवस्था काँग्रेसको लक्ष्य हो प्रधानमन्त्री देउवाले भने । मंसिर १० र २१ गतेको निर्वाचन कम्युनिष्ट र लोकतन्त्र पक्षधर बीचको जनमत संग्रह जस्तै भएको उल्लेख गर्दै उनले काँग्रेस बाहेक अर्को कुनै शक्ति प्रजातन्त्रको पक्षधर नभएको आरोप समेत लगाए ।
प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसको नेतृत्वमा संविधान सभाबाट जारी भएको वर्तमान संविधान कार्यान्वयनको जिम्मा लोकतन्त्रप्रति प्रतिबद्ध राजनीतिक दलले मात्र गर्न सक्ने र कम्युनिष्टहरुले संविधानको प्रस्तावनादेखि भावना प्रतिकूलका अभिव्यक्ति दिएकोले उनीहरुको बल पुगेमा जनताका अधिकार सुरक्षित भएको संविधानमाथि पहिलो प्रहार हुने पनि बताए ।