सोलुखुम्बु, कात्तिक २६ । पासाङल्हामु शेर्पालाई आफू सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरेको शेर्पा समुदायको सम्मान गरेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
सोलुखुम्बुको लुक्लामा आइतबार आयोजित काँग्रेस कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्र.म. देउवाले पासाङल्हामु शेर्पालाई राष्ट्रिय विभूति बनाएर शेर्पा समुदायको कदर गरेको प्रशंग उल्लेख गर्दै काँग्रेस सधैँ शेर्पा समुदायको साथमा रहने बताए । उनले आसनन निर्वाचनमा पनि अन्य कुनै पार्टीले प्रत्यक्षतर्फ शेर्पालाई चुनावमा नउठाएको दाबी गर्दै काँग्रेसले नै प्रदेशसभाको प्रत्यक्षमा आङ्गेलु शेर्पालाई उम्मेदवार बनाएको बताए ।
उक्त अवसरमा प्र.म. देउवाले मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीको जित हुन आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेशसभा क्षेत्र नं ‘ख’ का उम्मेदवार आङ्गेलु शेर्पाले लुक्लाको सुर्केसम्म कालोपत्र सडक पुर्याउनमाग गरे । प्रधानमन्त्री देउवाले उम्मेदवार शेर्पा र स्थानीय वासीको माग सम्बोधन गर्दै दुई वर्षभित्र सुर्केसम्म कालोपत्र गर्ने र सोलुदूधकुण्ड नगरपालिकमा एउटा राष्ट्रियसभा गृह बनाउने प्रतिबद्धता व्यक्त गरे ।
चुनावी कार्यक्रममा प्रदेशसभाका उम्मेदवार शेर्पाले आफूलाई त्यस क्षेत्रका जनताले निर्वाचित गर्ने विश्वास व्यक्त गर्दै चुनाव जितेपछि १ नं प्रदेशकै नमूना क्षेत्र बनाउने बताए । कार्यक्रममा खुम्बु क्षेत्रका अगुवाले त्यहाँको विकास निर्माणमा ध्यान दिन माग गरेका थिए ।